देश

उर्लाबारी घटनाः सरकारी वकिलको कार्यालयद्वारा ६ जना विरूद्ध मुद्दा दर्ता

विराटनगर, १२ फागुन । मोरङको उर्लाबारी नगरपालिका– ५ का ३२ वर्षिय प्रविण बाँस्तोलाको रहस्यम तरिकाले मृत्यु भएको घटनामा सरकारी वकिलको कार्यालयले ६ जना विरूद्ध ‘कर्तब्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ ।

सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका ४ सहित ६ जना विरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो । प्रहरीले पक्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका ९ का ३४ वर्षिय कुमार राई र प्रविणका साथी मोरङ्ग रतुवामाई नगरपालिका – १० पवित्रा चोकका २९ वर्षिय रिकेश सिवा भन्ने मेहरमान दर्र्जिसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर मंगलबार अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।

सोही मुद्दामा प्रविणका साथीहरू उर्लावारी नगरपालिका .६ प्रगति टोलका १९ वर्षिय सुदिप परियार, सोही ठाउँका ३२ वर्षिय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका ९ का ३१ वर्षिय दिपेश पौडेल र प्रविण शव भेटिएको घरधनी उर्लावारी ६ फिल्म हल छेउका ६० वर्षिय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता भएको हो ।

अदालतमा अभियोग दर्ता भएपछि पक्राउ परेका होटल संचालक राई र दर्जीको बयान सकिएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

प्रतिवादीहरूको बयान सकिएकोले बिहीबार थुनछेक बहस हुने स्रेस्तेदार दाहालले बताए । प्रहरीले लापरबाहिपूर्ण रूपमा अनुसन्धान गरेको भन्दै मृतकका आफन्त र स्थानिय आन्दोलित भएका थिए । शंकास्पद रूपमा मृत्यु भएको घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदन (मिसिल) मा मृतककको अर्कै फोटो परेको भन्दै उनीहरूले इलका प्रहरी कार्यालय उर्लाबारी, जिल्ला सरकारी वकिलको कार्यालय घेराउ गरेका थिए ।

मृतकका आफन्त र परिवारलाई मुद्दा दर्ता गर्ने र अनुसन्धान संलग्न प्रहरीले लापरबाही गरेको भेटिए कारवाहीको दायरमा ल्याउने विश्वास बनाएपछि आन्दोलन साम्य भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले घटनामा संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिए । यस घटनाको अनुसन्धानमा संलग्न प्रहरीले घटनामा लापरबाही गरेको पाइए कारवाहीको दायरमा ल्याउने उनले दाबी समेत गरे ।

Featured