देश

रविको बैंक खाता खोज्न प्रहरीले पठायो राष्ट्र बैंकलाई पत्र

काठमाडौँ, भदौ ९–पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार रवि लामिछानेसहित तीन जनाको बैंक खाता खोज्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ ।

पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा खेपिरहेका रवि, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको बैंक खाता र सो खाताको विवरण माग्दै चितवन प्रहरीले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको हो ।

चितवन जिल्ला अदालतमा दर्ता अभियोगपत्रमा समावेश पत्रअनुसार तीनै प्रतिवादीहरुको नेपालका वाणिज्य बैंकहरुमा भएका खाता र तिनको विवरण माग गरिएको छ । सरकारी वकिलले अदालतमा बुझाएको मिसिलको सबुत प्रमाण क्रम संख्या ६६ मा पत्र पठाएको विवरण उल्लेख छ ।

रविसहित तीनै जनाको बयान सकिएलगतै अहिले अदालतमा बहस चलिरहेको छ । कार्कीको हिजै बयान सकिएको थियो भने लामिछाने र कँडेलको बयान आज सकिएको हो ।

शालिकरामले मर्नुअघि रेकर्ड गरेको भिडियोमा रविसहित ३ जनाले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेपछि गएको साउन ३० गते रविसहित कँडेल र कार्की पक्राउ परेका थिए ।

पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताए थिए । उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए।