देश राजनीति

७० वर्षमा पनि स्वस्थ छु, १८ घण्टा काम गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनलाई सर्वाेच्च अदालतले सदर गर्नेमा आफू विश्वस्त रहेकाे दाेहार्‍याएका छन् । काठमाडौंमा ओली समूहनिकट राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले संसद् विघटन बदर भए देश अस्थिरतातर्फ जाने बताए ।

बहुमतकाे प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने तर्क गर्दै उनले भने, ‘संविधान हेराैँ, नेपालसँगै अन्य देशकाे अभ्यास हेराैँ । बहुमतकाे प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाए कसले पाउँछ ?’

उनले प्रचण्ड-माधव समूहसँग ३६ प्रतिशत मात्रै रहेकाले आफूले राजीनामा दिनुपरेकाे अवस्थामा अर्काे सरकार नबन्ने दाबीसमेत गरे । ‘३६ जना मान्छे कतिपटक गन्दा ३७ हुन्छ ?’, उनले प्रश्न गरे, ‘हामीसँग बहुमत छ । ३६ प्रतिशतले जे गरे पनि सरकार कसरी बनाउन सक्छ ?’

उनले २०४७ सालमा सूर्य चिन्ह आफूले दर्ता गरेर अहिलेसम्म त्यसैबाट चुनाव लडिरहेको भन्ने अभिव्यक्ति दाेहाेर्‍याए  ‘प्रचण्डजीले कहिल्यै सूर्य चिन्हबाट चुनाव लड्नुभएको छैन । बल्लतल्ल सूर्य चिन्ह स्वीकार्नुभएको थियो तर अब उहाँ पेरिसडाँडातिर फर्किसक्नुभएको छ । उहाँकाे चुनाव चिन्ह के हाे, तपाईंहरू नै बुझ्नुहोला’, ओलीले भने ।

प्रधानमन्त्री ओलीकाे जन्मदिनका अवसरमा राष्ट्रिय युवा संघ नेपालका नेताहरूले केक काटेर खुवाएका थिए । उनीहरूले ओलीलाई नेपालकाे नक्सा उपहार दिए । बालुवाटारमा आफ्नो ७०औँ जन्मदिन मनाएर ओलीले युवा संघकाे कार्यक्रममा पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले आफू ७० वर्षको उमेरमा पनि स्वस्थ रहेकाे भन्दै १८ घण्टासम्म काम गर्ने गरेको बताए । ‘७० वर्षमा पनि स्वस्थ छु, अहिले पनि १८ घण्टा काम गर्छु ।’

Featured