देश

उपनिर्वाचन घोषणालगत्तै सहसचिवको सरुवाप्रति कांग्रेसको आशंका

काठमाडौं, भदौ ९–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भूसालले गौतमले आगामी १४ मंसिरमा देशका ५० स्थानमा हुने निर्वाचनलाई प्रभावित गर्न सरकारले निर्वाचन आयोगका कर्मचारी सरुवा गरेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै नेतृ भुसालले निर्वाचन आयोगलाई संवैधानिक अंगको रुपमा संविधानले स्वीकारे पनि यसलाई सरकारले हस्तक्षेप गर्न सरकारले सहसचिवसहित आयोगका थुप्रै कर्मचारीको सरुवा गरेको दाबी गरिन् ।

आगामी १४ मंसिरमा मुलुकका विभिन्न पदका ५० स्थानका लागि निर्वाचन हुँदैछ । मन्त्रिपरिषद्ले ती स्थानमा निर्वाचन गर्ने घोषणा गरेपछि ४ भदौमा मन्त्रिपरिषद्को अर्को बैठक वरिष्ठ सहसचिवलाई सरुवा गर्ने काम गरेको भन्दै उनले आपत्ति जनाइन् ।

‘यो सरकारले निष्पक्ष र तटस्थ निर्वाचन गर्नेमा शंका छ । निर्वाचन आयोगका कर्मचारीलाई सरुवा गराउनुको पछि के मनसाय हो ?’ भुषालले भनिन, ‘यो संवैधानिक अंगमा रहेको कर्मचारीलाई सरुवा गर्न पाइँदैन । सरुवा फिर्ता गर्नुपर्छ ।’ स्वास्थ्य सेवाका ३३ हजार कर्मचारीलाई सरुवा नगरेर विभेद गरिरहेको भुसालको दाबी छ ।