देश

गुल्मीमा सार्वजनिक यातायातको भाडा घट्ने

गुल्मी, भदौ ९– गुल्मीको सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने सडकको स्तरोन्नती भएसँगै सार्वजनिक यातायातको भाडा घट्ने भएको छ। भदौ १० गतेबाट लागू हुने गरी भाडा दर घट्ने भएको हो । कच्ची, ग्राभेल र पक्की सडकमा फरक फरक भाडा दर लागू गरिने भएको हो।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा सरोकारवालासागको छलफलपछि सार्वजनिक यातायातको भाडादर घटाउने निर्णय गर्दै नयाँ भाडादर कायम गरेको छ। नयाँ भाडा दरअनुसार जिल्लाका विभिन्न ठाउँसम्म पुग्ने सार्वजनिक यातायातको भाडादरमा आधाभन्दा बढी कमी आउने भएको छ।

२०७३ साल भदौ २० गते कायम भएको भाडादर नै यसअघि लागू हुँदै आएको थियो। अहिले कायम रहेको भाडा अन्य ठाउँको भन्दा तुलनात्मक रुपमा बढी भएको भन्दै नयाँ भाडादर तोकिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।

सबै सडकहरुमा जीप र हाइस तथा बस र मिनी बसको भाडादर भने एउटै कायम गरिएको छ। कच्ची सडकमा जीप र हाइसको प्रतिकिलोमिटर ७ रुपैयाँ २५ पैसा कायम गरिएको छ। यसअघि प्रतिकिलोमिटर ९ रुपैयाँ तिर्नुपर्थ्यो । जीप र हाइसका लागि ग्राभेल सडकमा प्रतिकिलोमिटर ६ रुपैयाँ तथा कच्ची सडकमा ३ रुपैयाँ १५ पैसा कायम गरिएको छ।

त्यस्तै कच्ची सडकमा बस र मिनी बसको भाडा प्रति किलोमिटर ६ रुपैयाँ कायम गरिएको छ। यसअघि प्रतिकिलोमिटर ७ रुपैयाँ २५ पैसा थियो । यस्तै ग्राभेल सडकमा मिनी बसको भाडामा प्रतिकिलोमिटर ५ रुपैयाँ तथा पक्की सडकमा ३ रुपैयाँ २ पैसा कायम गरिएको छ। सडकको संख्या यकिन हुन नसके पनि हाल एक सयको हाराहारी सडकमा सार्वजनिक यातायात नियमित गुड्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा धेरै सडकहरु स्तरोन्नती भइसकेका छन्। तर, भाडा भने कच्ची सडकमा गुड्ने गाडीले जसरी नै लिने गरेको पाइएपछि नयाँ भाडा दर कायम गरिएको उनले बताए। विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई सार्वजनिक यातायातमा नियम अनुसार छुट दिने निर्णय पनि गरेको छ।

छुटनका लागि सक्कली परिचय पत्र यात्रुको साथमा हुनुपर्ने प्रशासन कार्यालयले जनाएको छ। यसअघि पहाडका जिल्लाहरुमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गताहरुलाई व्यवसायीहरुले छुट दिएका थिएनन् ।

त्यस्तै जिल्ला जिल्ला भर चल्ने सार्वजनिक यातायात अन्र्तगत रातो नम्बर प्लेटको सवारी साधनले सवारी बोक्नमा कडाई गरिने भएको छ । रातो नम्बर प्लेटका गाडीले पनि यात्रु बोक्ने गरेको गुनासो व्यवसायीहरुले गरेका थिए । रातो नम्बर प्लेटका सवारी साधानले यात्रु बोक्ने गरे करवाही गरिने प्रजिअ पौडेलले बताए ।

Featured