खेलकुद देश

सफल पोखरा म्याराथन भोलि, १७८ जना दौडने

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १५औँ संस्करणमा एक सय ७८ जना दौडने भएका छन् । म्याराथनअन्तर्गत पुरुषको ४२ किलोमिटरमा एक सय ५७ र महिलातर्फ २१ किलोमिटरमा २१ जनाले नाम दर्ता गराएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ ।

शनिबार बिहान ७ बजे पोखरा रंगशालाबाट सुरु हुने म्याराथनमा दौडनेले पोखराका मुख्य सबै बजार दौडनुपर्नेछ । ४२ किलोमिटर र २१ किलोमिटरको दौड शनिबार हुने भए पनि बाँकी चार विधा फागुन तेस्रो हप्ता, चैत र वैशाखमा हुने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

पोखरा म्याराथनअन्तर्गत दृष्टिविहीनको महिला पुरुष दौडर शारीरिक अपाङ्गको ह्विल चियर दौड २२ फागुनमा, १० किमी महिला र पुरुष दौड १४ चैतमा, पाँच किलोमिटर छात्र र छात्रा दौड ४ वैशाखमा हुने आयोजकले जनाएको छ ।

मञ्चका महासचिव खेमबहादुर गुरुङका अनुसार प्रतियोगिताअन्तर्गत ४२.१९५ किमी म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने धावकले क्रमशः दुई लाख, एक लाख, ७५ र २५ हजार रुपैयाँ पाउने छन् ।

महिला हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमशः एक लाख, ७५ हजार, ५० र १५ हजार रुपैयाँ पाउने महासचिव गुरुङले जानकारी दिए ।

ह्विल चियर महिला र पुरुष तथा दृष्टिविहीन महिला र पुरुष दौडतर्फ प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गर्ने खेलाडीले क्रमशः नगद सात, पाँच र तीन हजार रुपैयाँ नगद पाउने आयोजकले जनाएको छ ।

१० किलोमिटर महिला र पुरुषतर्फ विजेता खेलाडीले क्रमशः नगद १५, १० र पाँच हजार तथा पाँच किलोमिटर छात्र तथा छात्राको दौडमा विजेता खेलाडीले नगद १०, सात र चार हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सफल दूधको मुख्य प्रायोजनमा हुने पोखरा म्याराथनको लागि करिब ५१ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । पोखरा म्याराथनलाई युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युके सहयोग गरेका छन् । नेपाल पर्यटन वोर्डले म्याराथनको प्रवद्र्धन गरेको छ ।

Featured