देश मनोरंजन

झडपमा घाइते रामचन्द्र झासहित चार जना थप उपचारका लागि काठमाडौं रिफर

धनुषामा नेकपाको प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा घाइते भएका पूर्वमन्त्रीहरू मातृका यादव, रामचन्दू झासहित चार जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

बिहीवार दिउँसो जनकपुरस्थित शिवोचकमा प्रहरीसँगको झडपमा घाइते भएका प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य यादव, केन्द्रीय सदस्य झा, सहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया र प्रदिप साहलाई काठमाडौं रिफर गरिएको हो । उनीहरूलाई  प्रादेशिक अस्पताल जनकपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

झडपमा पूर्वमन्त्री यादवसहित ११ जना घाइते भएका थिए । प्रहरीको लाठी प्रहारबाट झाको टाउको फुटेको छ । झाको टाउकोमा ८ वटा टाँका लगाइएको छ । सिटी स्क्यान गर्दा उनको टाउकोमा गम्भीर चोट देखिएको छ ।

यस्तै पूर्वमन्त्री यादवको तीघ्रामा चोट लागेको छ । यस्तै पूर्वमन्त्री यादवका भाइ कारी यादव र साहलाई पनि टाउकोमा चोट लागेको छ । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी तनाशाही प्रवृत्ति देखाएको आरोप सहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाले जानकारी दिए ।

आन्दोलनकारीले प्रहरीको भ्यानमा आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले समान्य बल प्रयोग गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए । उनका अनुसार ११ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Featured