विदेश

आकाशमै हेलिकप्टर र विमान जुधे, सातको मृत्यु

काठमाडौं, एजेन्सी, भदौ ९-स्पेनको पर्यटकीय टापु मल्लोर्काको आकासमा हेलिकप्टर र एउटा विमान जुध्दा दुई बालबालिकासहित सातको मृत्यु भएको छ।

दुर्घटना इन्का सहरको केन्द्रभागको आकाशमा भएको थियो। क्षेत्रीय बलेरिक सरकारले ट्वीटरमार्फत यसको जानकारी दिएको छ।

ब्रिटिस सञ्चारमाध्यम गार्जियनका अनुसार दुर्घटनाको समयमा विमानमा दुई जना र हेलिकप्टरमा पाँच जना सवार थिए। दुर्घटनामा ती सबैको ज्यान गएको छ। स्थानीय प्रहरी प्रवक्ताले सञ्चारकर्मीलाई बताए अनुसार हेलिकप्टरमा सवार चार जना एउटै परिवारका अभिभावक र तिनका दुई बालबालिका थिए। हेलिकप्टर जर्मनीमा दर्ता भए पनि त्यसमा सवार यात्रु कुन देशका भन्ने खुलेको छैन। पीडितको राष्ट्रियबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएका छ।

आकाशमा ठक्कर खाएपछि दुई यान मैदानमा खसेका थिए। मल्लोर्का र अन्य बलेरिया टापुहरु पर्यटकीय गन्तव्य हुन्। ती क्षेत्रमा विशेषत गर्मी महिनामा स्पेनभित्रै र विदेशबाट ठूलो संख्यामा पर्यटकको आउने गर्छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले पीडित परिवार प्रति सम्वेदना व्यक्त गरेका छन्। उनले ट्वीट गर्दै ‘मल्लोर्का घटनाको समाचारलाई विशेष चासोका साथ पछ्याइरहेको’ लेखेका छन्।

Featured