देश

टिकापुरमा थारुवान सम्मेलन जारी, थारुवान प्रदेशका लागि आन्दोलन गर्ने

काठमाडौं, भदौ ९–कैलालीको टिकापुरमा थरुवान सम्मेलन चलिरहेको छ । ८ भदौ २०७२ मा टिकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान जानेगरी भएको घटनाको समीक्षाका लागि थारु समुदायका अगुवाको अयोजनामा सम्मेलन चलिरहेको छ ।
थारुवान प्रदेशको माग गर्दै ४ वर्ष अगाडि भएको आन्दोलनमा ८ जनाको ज्यान गएपछि सरकारले कैलालीका थारु समुदायमाथि दमन गर्यो । थरुहट प्रदेशको माग गर्दै थारुहरु २५ साउन २०७२ देखि आन्दोलनमा उत्रिए ।

आन्दोलन चर्किदै गएर हिंसामा परिणत भयो । ८ भदौ, २०७२ को घटनापछि सरकारले कफर््यु लगायो । कफर््युकाबीच थारु समुदायका एफएम रेडियोसहित, घर, पसल गरी ८८ वटा भौतिक संरचना जलाइए ।

सरकारले टिकापुर घटनाको सम्पूर्ण दोष थारुहरुमाथि लगायो । सयौं थारुमाथि मुद्दा चलाइयो । टिकापुरबाट सांसद निर्वा्चित भएका रेशम चौधरी अहिले त्यही मुद्दामा जेल सजाय भोगिरहेका छन् ।

आन्दोलनको ४ वर्षसम्म मौन रहेको टिकापुर फेरि ब्यूँतिएको छ । ७ भदौदेखि सुरु भएको थारुवान सम्मेलनमा थारुवान प्रदेशको माग फेरि उठेको छ । सम्मेलनमा फेरि थारुवान प्रदेश माग गर्ने प्रस्ताव गरिएको छ । थारुवान प्रदेशका लागि फेरि आन्दोलन गर्ने पनि निर्णय भएको छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राजपा अध्यक्ष मण्डलका सदस्य लक्ष्मणलाल कर्ण, पूर्वराजदूत विजय कर्ण, पत्रकार किशोर नेपाल, राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला, युग पाठकलगायतका व्यक्ति सम्मेलनमा सहभागी हुन काठमाडौंबाट गएका छन् ।

सम्मेलनका लागि काठमाडौंबाट गएका लेखक तथा नेताहरुले थारुहरुमाथि अन्याय भएको धारणा प्रस्तुत गरेका छन् ।

टिकापुर घटनाका मुख्य दोषी मानिने रेशम चौधरीलाई रिहाई गर्नसमेत माग गरिएको छ । सम्मेलनलाई सम्बोधन गर्दै पत्रकार तथा लेखक किशोर नेपालले भने, ‘जबसम्म रेशम चौधरीको रिहाइ हुँदैन, तबसम्म टीकापुरको घाउ निको हुँदैन ।’

थारु समुदायप्रति उदार देखिने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चौधरी अपराधी भए प्रचण्डसहित आफू पनि अपराधी हुने बताएका छन् । थारु समुदायलाई आन्दोलन जारी राख्न आग्रह गरेका उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने, ‘तपाईंहरूले गरेको झापा विद्रोह राजनीतिक भयो । तपाईंहरूको मुद्दा पनि फिर्ता भयो । अनि थारुहरूको टीकापुर विद्रोह कसरी अपराध भयो ?’

थारुले गरेको आन्दोलन गलत हो भने आफू र प्रचण्डले गरेको विद्रोह पनि गलत हुनुपर्ने जिकिर गर्दै बाबुरामले भने, ‘थारुहरूले गरेको विद्रोह अनि उनीहरूको आन्दोलन गलत थियो र अपराध थियो भने, तपाईं हामीले गरेको विद्रोह त्यो जनयुद्ध के थियो ?’

उनले अगाडि भने, ‘उसो भए प्रचण्डजीले भन्न सक्नुपर्यो कि हामीले गरेको जनयुद्ध पनि गलत थियो, हैन भने तपाईं हामीले गर्दा त्यो राजनीतिक मुद्दा अनि थारुहरूले गर्दा कसरी अपराध हुन्छ ?’

थरुवान प्रदेश माग गर्न सम्मेलनले थारुवान राष्ट्रिय मोर्चा समेत गठन गरेको छ । सम्मेलनले लक्ष्मण थारुको नेतृत्वमा मोर्चा गठन गठरेको छ । आज (सोमबार) पत्रकार सम्मेलनमार्फत् १५ बुँदे टीकापुर घोषणापत्र सार्वजनिक गरिँदैछ ।

मोर्चाले चरणबद्ध आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । नयाँ संविधानका केही धारा, उपधारा संशोधन गर्नुपर्ने, टीकापुर घटनाका राजवन्दीहरुलाई बिनासर्त रिहाई गर्नुपर्ने, थरुहट स्वायत्त प्रदेश हुनुपर्ने, संविधानले ग्यारेन्टी गरेको समानुपातिक समावेशीता कार्यन्वय गर्नुपर्ने लगायतका माग राख्दै मोर्चाले आन्दोलन गर्ने तयारी गरेको छ ।

Featured