विदेश

भ्रष्टाचार अभियोगमा किर्गिजस्तानका पूर्वप्रधानमन्त्री पक्राउ

किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।

उनले भ्रष्टाचार गरेका केही प्रमाण भेटिएको र अनुसन्धानको सिलसिला चलिरहेकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनीहरूको भनाइ छ ।

प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका बेला अब्यल्गाजीभले कानुनको उल्लंघन गरेको, स्रोत र शक्तिको दुरुपयोग गरेको, राज्यलाई नोक्सान पारेकोलगायतका आरोपहरू उनलाई लगाइएको छ ।

खनिज स्रोत उपयोग र परिचालनसम्बन्धी निर्णयमा उनले अनियमितता गरेको भन्दै उनीसहित सरोकारवालाहरूलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

पूर्वप्रधानमन्त्री अब्यल्गाजीभको वैधानिक रूपमा देखिने आम्दानीभन्दा कैयौँ गुणा धेरै आम्दानी देखिएकाले पनि शंका गर्ने आधार बढेको प्रहरी अधिकारीहरूले बताएका छन् । देशभरी नै उहाँको धेरै सम्पत्ति भेटिएको र त्यसको आम्दानीको स्रोत र आधार विश्वासीलो नभएको पाइएको छ ।उनी किर्गिजस्तानको प्रधानमन्त्रीको रूपमा सन् २०१८ को अप्रिल २० तारिखका दिन नियुक्त भएका थिए । उनले झण्डै दुई वर्षपछि अर्थात् गत सन् २०२० को जुन १५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

Featured