देश राजनीति

रामचन्द्र पौडेलले विराटनगर आएर भने ‘चुनावका नाममा संविधान मास्न पाईँदैन’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावका नाममा संविधान मास्न नपाइने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा पौडेलले चुनावका नाममा संविधानविपरीत काम गर्न नपाईने बताएका हुन् । अहिलेको अवस्थामा संसद पुनःस्थापना बाहेक अन्य कुनै विकल्प नरहेको उनको धारणा छ ।

अर्बौं रुपैयाँ खर्च गरेर चुनाव गर्ने, सरकार ढल्ने अवस्था आए प्रतिनिधिसभा नै विघटन गर्ने हो भने सँधै चुनाव भइरहने र त्यसरी हुने चुनाव देशले नधान्ने उनले दावी गरे । संविधान विपरित चुनाव गर्दै जाने भए संधै चुनावमात्रै गरिरहनुपर्ने अवस्था आउने पौडेलको भनाई छ । चुनावका नाममा देशलाई अफगानिस्तानको बाटोमा लैजान खोजिएको पौडेलको आरोप छ ।

प्रतिनिधिसभा विघटनलाई केपी ओलीले राजनीतिक निर्णय भन्ने गरेको तर, संविधानमै नभएको कुरा प्रधानमन्त्रीले गर्ने हो भने जसले जे गरे पनि हुने पौडेलले बताए ।

पौडेलले प्रदेशमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेस रहेको बताए । प्रतिपक्षीदलको धर्म अनुसार प्रदेशहरूमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने उनले स्पष्ट पारे ।

Featured