देश

पथलैया–अमलेखगंज सडक खण्डबाट बाघले एक जनालाई जंगल तर्फ लग्यो

काठमाडौं, १० माघ । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगंज सडक खण्डबाट शनिवार बिहान बाघले एक जना पुरुषलाई जंगल तर्फ लगेको आशंकामा खोजी कार्य सुरु गरिएको छ ।

अमलेखगंज स्थित नेपाल आयल निगमको डिपो देखि दक्षिण तर्फ रहेको सडक छेउको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशंकामा खोजी सुरु गरिएको हो । सडकमा हिडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए ।

जंगल पसेको केही बेर मैं ठूलो आवाजमा ति पुरुष चिच्याए पछि नजिकै रहेकी अर्की महिलाले प्रहरीमा खबर गरेकी थिईन । खबर पाए पछि घटना स्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसके पछि बाघले लगेको आशंका गरिएको हो ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी ईन्चार्ज प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठका अनुसार जंगल भित्रबाट ठूलो आवाजले चिच्याए पछि महिला भाग्दै प्रहरीलाई आएर जानकारी गराएको बताए । प्रहरीको टोलीले जंगल वरपरको क्षेत्रमा खोजी गरेपनि पुरुषको अवस्था फेला पार्न नसकिएको प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।

सडक नजिकैको जंगलमा नभेटिए पछि निकुञ्जको चार वटा हात्तीमा सेना , प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ । केही समय अघि सोही सडक खण्डमा कारको ठक्करबाट बाघको मृत्यु भएको थियो। पछिल्लो समय उक्त सडक खण्ड नजिकको जंगलमा बाघको चहल पहल बढ्न थालेको छ।

Featured