देश

नेप्से १५ अंकले वृद्धि हुँदा १५ कम्पनीको शेयरमूल्यमा उछाल

बुधबार नेप्से परिसूचक १५ दशमलव ८७ अंकले वृद्धि हुँदा १५ कम्पनीको शेयरमूल्यमा उछाल आएको छ । उछाल आउनेमा अधिकांश कम्पनी फाइनान्स समूहका छन् । फाइनान्स समूहको परिसूचक ४ दशमलव २६ अंकले बढ्दा बुधबार फाइनान्स समूहको शेयरमूल्यमा उछाल आएको हो ।

कारोबारमा आएका २ सय ११ कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता शेयर ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँमा कारोबार भएको छ ।  नेप्से सामान्य अंकले बढ्दा विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्डको सूचक बढेको छ ।

कारोबारमा आएका कम्पनीमध्ये १ सय ४ कम्पनीको शेयरमूल्य बढ्दा १५ कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतभन्दा धेरैले बढेको छ । बेस्ट फाइनान्स कम्पनी, कर्पोरेट विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नारायणी विकास बैंक, नेपाल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, नेपाल हाइड्रो डेभलपर्स, कर्णाली विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनान्स, सिन्धु विकास बैंक, प्रोग्रेसिभ फाइनान्स र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको ९ प्रतिशतभन्दा बढीले शेयरमूल्य बढेको हो ।

यस्तै, ६१ कम्पनीको शेयरमूल्य घट्दा विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । विशाल बजारको ३ दशमलव ९५ प्रतिशतले शेयरमूल्य घटेको हो । कारोबार भने नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै भएको छ ।

Featured