देश राजनीति

तीन मिनेट बसेर स्थगित भयाे प्रदेश १ को बैठक

विराटनगर, ७ माघ । प्रदेश १ को प्रदेशसभा हिउँदे अधिवेशन प्रदेश प्रमुखले पठाएको पत्र बाचनसँगै स्थगित भएको छ । प्रदेशसभा सभामुख प्रदीप भण्डारीले प्रदेश प्रमुख साेमनाथ प्यासी अधिकारीले अधिवेशन सुरूबारे पठाएकाे पत्र बाचन गरेलगत्तै तीन मिनेट बसेर बैठक स्थगित भएकाे हाे । बैठकअघि बसेकाे कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढे लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि संसद बैठक स्थगित गर्ने सहमति भएको थियाे ।

सत्तासीन दल नेकपा विभाजन भएसँगै प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।  आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राईले नेपाल–प्रचण्ड समूहका १६ जना सांसदहरुलाई निलम्बन गरेका थिए ।

प्रचण्ड–नेपाल समूहले पनि बहुमतमा रहेको दाबी गर्दै मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएर आचार्यलाई बनाएको छ । सो समूहले मुख्यमन्त्री राई, उनको पक्षका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीसहित ८ सांसदलाई निलम्बन गरेको घोषणा गरेको छ ।

दुवै पक्षको कारबाहीका विषयमा कानुनी अन्यौल रहेकै बेला प्रदेशसभाको बैठक सुरु हुन लगेकाले अविश्वासको प्रस्ताव के हुने भन्ने विषय पेचिलो बनेको छ ।

 

Featured