देश राजनीति

दुई तिहाइ चाहियो रे भन्दै हाँसे प्रधानन्यायाधीश

प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा निरन्तर सुनुवाइ जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेकाे छ। यतिबेला रिटनिवदेकतर्फबाट बहस गरिरहेका वकिल र न्यायाधीशहरूबीच सवाल-जवाफ भइरहेकाे छ ।

अहिले वरिष्ठ अधिवक्ता सुनिल पाेखरले बहसमा छन् । बहसका क्रममा उनले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने तर्क गरेका छन् । उनले भने, ‘संसद्को इच्छाबाहेक अरु कसैले विघटन गर्न सक्दैन । राष्ट्रपति र प्रधानमन्त्रीले पनि सक्दैनन् । किनभने, संविधानले संसद्लाई पाँच वटा विकल्प दिएको छ । ती विकल्पमध्ये कुनैबाट पनि सरकार बनाउन सकिनाैँ भने तिमी मर्छौ भन्या छ ।’

पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्रीलाई असहयाेग गरे भनेर संसद विघटन नहुने तर्क उनले गरे । ‘संसद्लेचाहिँ २ वर्षसम्म प्रधानमन्त्री चलाउन नपाउने रे अनि प्रधानमन्त्रीलेचाहिँ १७ मिनेटमा संसद् विघटन गर्ने, यस्तो कसरी हुन्छ ? हाम्राे संविधानले यस्तो कमजोर संसद् कल्पना गरेकै छैन’, उनकाे तर्क छ ।

प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै उनले थपे, ‘प्रतिनिधिसभाले के मा असहयोग गर्‍याे ? बेसारपानी खाउभन्दा ताली बजाएर स्वागत गर्ने प्रतिनिधिसभा नै हो । हाच्छिउँ गरेर कोरोना भाग्छभन्दा ताली बजाउने प्रतिनिधिसभा हो । रेल, पानीजहाज, एमसीसी रोक्यो र ? केरुङमा पुग्या रेल, फर्कायो र ? कोशीमा पुग्या पानीजहाज फर्कायो र ? के असहयोग गर्‍याे प्रतिनिधिसभाले ?’

उनकाे तर्क सुनेपछि प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाले भने, ‘दुई तिहाइ चाहियो रे !’ अनि उनी हाँसे । त्यसपछि उनले भने, ‘संवैधानिक हो अदालतले स्वीकारी सक्यो, अगाडि बढ्नुहोस् ।’त्यसअघि पाेखरेलले याे राजनीतिक विषय हाेइन भनेर अदालत पन्छिन नमिल्ने बताए ।

वरिष्ठ अधिवक्ता पोखरेलले पूर्वप्रधानन्यायाधीशहरूकाे विज्ञप्तिबारे कुरा काेट्याएपछि राणाले भने, ‘अब कसले के-के भन्या छ, हामीले सुन्ने पनि हाेइन, सुन्या पनि हाेइन, हाम्राे माइन्डमा पनि छैन, हार्टमा पनि छैन । बाेल्नेहरूलाई कानुन पनि छैन ।’ याेसँगै आजका लागि बहस सकिएकाे छ । भाेलि पुनः सुनुवाइ हुने छ ।

Featured