देश

बालुवाटार र खुमलटार गर्दागर्दै मेरा धेरै जुत्ताका तलुवा फाटे तर सफल हुन सकिनँ : प्रदीप ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी एकता कायम राख्न आफूहरूले धेरै प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन् । खुमलटार र बालुवाटार धाउँदाधाउँदै आफ्ना धेरै जुत्ताका तलुवा फाटेको बताउँदै मन्त्री ज्ञवालीले भने, ‘तर, हाम्रो प्रयास सफल हुन सकेन ।’

अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई आइतबार सम्बोधन गर्दै नेकपा ओली समूहका प्रवक्तासमेत रहेका ज्ञवालीले पार्टी एकता गरेको १२ घण्टा नबित्दै प्रचण्डले षड्यन्त्र सुरु गरेको आरोप लगाए ।

महाधिवेशनमा जान नसक्ने तर प्रधानमन्त्रीको कुर्सी चाहिने प्रचण्डको लोभका कारण पार्टी एकता भंग भएको उनको भनाइ छ । बाँडीचुँडी खाने स्वास्थ्यका कारण अहिलेको अवस्था आएको उनले बताए । ‘खुलमटारमा स्वयम् प्रधानमन्त्री केपी शर्मा ओली पुगेर फागुनमै विशेष महाधिवेशन गरौँ, म छोड्छु भन्दा पनि प्रचण्ड मान्नुभएन,’ उनले भने ।

उनले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा पनि सांसदहरूलाई झुक्याएको बताए । ‘बाटो र बिजुलीको पोल चाहियो भनेर सांसदहरूलाई बोलाएर प्रधानमन्त्री फाल्ने प्रस्तावमा हस्ताक्षर गर्न लगाइयो,’ उनले भने,‘उहाँहरूको षड्यन्त्र त्यत्तिमा सीमित थिएन, राष्ट्रपतिविरुद्ध पनि महाअभियोगमा जाने योजनामा हुनुहुन्थ्यो ।’ उनले सरकारले अहिलेसम्म हुनै नसकेको काम खुरुखुरु गर्न लागेका कारण प्रचण्ड र माधवकुमार नेपाल तिलमिलाएको आरोप लगाए ।

‘छिमेकी मुलुकसँग बिग्रिएको सम्बन्ध सुध्रियो । जहाँ नेपालीलाई अप्ठ्यारो पार्ने काम भएको छ । त्यहाँ हामी प्रष्टसँग कुरा राखेर समाधान गर्ने प्रयासमा लाग्यौँ । नेपाललाई सुन तस्कर गर्ने मुख्य ठाउँ बनाइएकोमा त्यो अहिले बन्द भएको छ । जग्गा दलालहरूलाई पनि ठेगान लगाइयो । यस्ता कामबाट उहाँहरू सरकारको लोकप्रियता बढ्दै गएका कारण आफ्नो प्रधानमन्त्री बन्ने लोभ पूरा नहुने देखेपछि षडयन्त्र गरियो,’ उनले भने ।

Featured