देश राजनीति

चुनावमा जान कांग्रेसलाई हतार छैन : रामचन्द्र पौडेल

काठमाडौं, ३ माघ-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले चुनावमा जान हतार गर्न नहुने बताएका छन् । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका-४ का एकनारायण खनालको नवौँ पुण्यतिथिमा शनिबारआयोजित शोकसभामा पौडेलले चुनावमा जान कांग्रेसलाई हतार नभएको बताए ।

‘चुनावमा जान कांग्रेसलाई कुनै हतार भएको छैन । अब चुनाव आयो, कांग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जान हतार गर्नु हुँदैन । कांग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन,’ नेता पौडेलले भने ।

उनले संसद् विघटनको मुद्दामा न्यायाधीशहरूले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको समेत बताए । देशलाई अस्थिरताको भुमरीबाट बचाउन संसद् पुनःस्थापन हुनुपर्ने उनको भनाइ थियो ।

नेता पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउँदै मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको हुँदा त्यसलाई चिर्न आवश्यक रहेकोमा जोड ए ।  जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भएको उनले आरोप लगाए ।

Featured