देश

प्रदुषणसहितको कठ्यांग्रीदो चिसोले विराटनगर लगायत पूर्वी तराईको जनजिवन प्रभावित, सावधानी अपनाउन विज्ञहरुको सुझाव

विराटनगर, २ माघ । केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ । बाक्लो शितलहरसँगै बढेको चिसोका कारण विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरु बढी प्रभावित भएका छन् । प्रदूषणसहितको चिसो बढेकाले सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन् ।

शीतलहरसँगै बढेको चिसोले आमसर्वसाधारणलाई पिरोल्न थालेको छ । चिसोका कारण विशेष गरी ज्येष्ठ नागरिक र बालबालिका प्रभावित भएका छन् । चिसोका कारण प्रदेश–१ को राजधानी विराटनगरसहित आसपासको क्षेत्रका बजारमा समेत चहलपहलमा कमी आएको छ । बिहानीपख बाक्लो हुस्सु लाग्नुका साथै शीतसमेत पर्ने गरेको छ ।

बजारमा किनमेल गर्ने मानिसहरु कम देखिन्छ भने व्यापारीहरु पसल बाहिर आगो बालेर तापेको देखिन्छ  । दैनिक ज्यालादारी गर्ने मजदुर पनि ठाउँ ठाउँमा आगो तापेर बस्न बाध्य छन् । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत घटेको छ । जरुरी कामले मात्र सर्वसाधारण घर बाहिर निस्कने गरेका छन् । आफ्ना अन्य कामहरुलाई थाँती राखेर चिसोबाट बच्न आगो तापेर बस्ने गरेको स्थानीय विराटनगरका स्थानीय सूर्यनारायणप्रसाद सिंह बताउँछन् । केही दिनदेखि बढेको चिसोले निकै नै सताएको सिंहले बताए ।

बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई बढ्दो चिसोले असर पुर्याएको छ । वृद्धावृद्धालाई बाहिर निस्कँदा चिसोले झनै सताउने गरेको विराटनगरका स्थानीय ज्येष्ठ नागरिक टंक चौलागाईको भनाइ छ । अत्यधिक चिसो बढेपछि जनजीवन थप कष्टकर बनेको उनले बताए ।

बिहानदेखि शीतलहरसँगै चिसो हावा चल्ने गरेको छ । बुधबार यस वर्षकै चिसो महसुस भएको थियो । चिसो बढेसँगै बाहिरी वातावणसमेत मानव स्वास्थ्यका लागि प्रतिकूल रहेको वातावरण विशेषज्ञ रामचन्द्र अधिकारी बताउँछन् । अहिले प्रदूषणसहितको जाडो भएकाले सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । अत्यावश्य कामबाहेक बाहिर हिड्न नहुने उनले बताए । बुधबार विराटनगरमा न्यूनतम ५ डिग्री सेल्सियस र अधिकतम १४ डिग्री सेल्सियस तापक्रम रहेको थियो बिहीबार बिहान १५ डिग्री सेल्सियस र अधिकतम १९ डिग्र सेल्सियस तापक्रम रहेको मौसम विभागको तथ्यांकमा उल्लेख छ ।

Featured