देश

मनीषा कोइराला ‘क्यान्सर एजुकेसन फन्ड’ ले खुलायो छात्रवृत्ति आवेदन

काठमाडौं, १ माघ-मनीषा कोइराला ‘क्यान्सर एजुकेसन फन्ड’ले प्रत्येक वर्ष १५ जना क्यान्सरपीडित विद्यार्थीलाई पढाउने भएको छ । फन्डबाट ‘क्यास’ तथा ‘नन–क्यास’ शीर्षकमा स्कुलदेखि मास्टर्स लेभलसम्मका विद्यार्थीलाई छात्रावृत्ति दिइनेछ ।

‘परिवारमा कोही क्यान्सरपीडित भएका अथवा विद्यार्थी नै क्यान्सरपीडित भएमा छात्रवृत्ति दिइनेछ’, ग्लोबल कलेज इन्टरनेसनलका निर्देशक डा. देवराज पनेरुले भने, ‘क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले ग्लोबल कलेजले फाउन्डिङ गरेको हो ।’

‘क्यास’ शीर्षकअन्तर्गत विद्यार्थीले जुनसुकै कलेजमा पढ्न पाउनेछन् भने ‘नन–क्यास’अन्तर्गत ग्लोबल कलेजमै पढ्नुपर्ने निर्देशक पनेरुले बताए ।

फन्डले यो सिजनमा ब्याचलर र मास्टर्स लेभलको छात्रवृत्तिका लागि आवेदन खुलाएको छ । ब्याचलर र मास्टर्स लेभलमा पाँच जना विद्यार्थीले छात्रावृत्ति पाउनेछन् ।

‘एमबीए, बीबीए, बीबीएस, बीटीटीएमका लागि आवेदन खुलाएका छौँं’, उनले भने, ‘नयाँ शैक्षिकसत्र सुरू भएपछि भर्ना गर्ने समयमा विद्यालय, प्लस टु, ए–लेभलमा पनि छात्रवृत्तिका लागि आवेदन खुलाउँछौँ ।’ मनीषा कोइराला ‘क्यान्सर एजुकेसन फन्ड’ र ग्लोबल कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक ५५ लाख रुपैयाँबराबरको योगदान गर्ने उद्देश्य रहेको छ ।

Featured