देश

५०३२ नमुना परीक्षण गर्दा ४०३ जनामा कोरोना पुष्टि

काठमाडौं, १ माघ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३२ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा १६१ महिला र २४२ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

नेपालमा अहिलेसम्म २० लाख २ हजार ४१ जनाको पीसीआर परीक्षण गर्दा २ लाख ६६ हजार ५४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका मध्ये २ लाख ६० हजार १७७ जना निको भएको मन्त्रालयले जनाएको छ । आज थप ४०५ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ९७.६ प्रतिशत निको भएका छन् ।

आज काठमाडौं उपत्यकामा ११० महिला र १२० पुरुष गरी २४६ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या देशभर देखिएका संक्रमितको आधाभन्दा धेरै हो । आज सबैभन्दा धेरै काठमाडौंका २२० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ३ र ललितपुरमा २३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

आज देशभर ४ हजार ४२६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय सक्रमितमध्ये २ हजार ७११ जना काठमाडौं उपत्यकामा छन् । काठमाडौंमा २ हजार ३३२, भक्तपुरमा २३ र ललितपुरमा २८७ जना सक्रिय संक्रमित रहेका छन् ।

१ हजार १२४ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । १५२ जनाको आईसीयूमा उपचार भइरहेको छ । ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक रहेको छ । देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा २३१ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाका कारण निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९४३ पुगेको छ । मृत्युदर ०.७३ प्रतिशत रहेको छ ।

Featured