विराटनगर, भदौ ८–आगामी असोज महिनामा विराटनगरमा आयोजना हुने प्रदेशस्तरीय मिस्टर एण्ड मिस थारु आईकन सिजन टू को अन्तिम अडिसन सम्पन्न भएको छ । विराटनगरस्थित एक नृत्य प्रशिक्षण केन्द्रमा सम्पन्न भएको अडिसनमा सुनसरी मोरङका २ दर्जन बढी युवायुवती सहभागि भएका छन् ।
यसअघि दुुहबी,झुम्का,गाइघाट र विर्तामोडमा समेत प्रतियोगिताको अडिसन गरिएको थियो । ती अडिसनहरुबाट २५ जना युवायुवती प्रतिस्पर्धाकालागि छनौट भइसकेका छन् ।
विराटनगरको अडिसनमा पहिलो सिजनको टाइटल विजेता शिवानी चौधरी र प्रमोद विश्वासका साथै अधिवक्ता मधुसुदन चौधरी,महिला नेतृ सुचि चौधरी,समाजसेवी पार्वती गच्छदार र देवीता विश्वासले निर्णायकको भुमिका निर्वाह गरेका छन् ।
विराटनगरबाट छनौट गरिने प्रतिस्पर्धिहरुलाई समेत समावेश गरेर १ महिने बन्द प्रशिक्षण आयोजना गरिने आयोजक थारु कला केन्द्रले जनाएको छ ।
थारु भाषा र कलासंस्कृति प्रबद्र्धन गर्ने उद्धेश्य सहित आयोजना गरिने प्रतियोगिताको फाइनल स्थानीय वीरेन्द्र सभागृहमा आउदो दशैंमा सम्पन्न हुने जनाइएको छ । मिस्टर एण्ड मिस थारु आईकनको टाइटल विजेताले ५० हजार,फस्र्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजार हासिल गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस