देश

राष्ट्रिय वनको अद्यावधिक लगत माग्ने निर्णय

काठमाडौं, भदौ ८–कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले देशभरी छरिएर रहेको राष्ट्रिय वनको अवस्था बारे चासो देखाएको छ । वन सम्बन्धि ऐन र भूमि सम्बन्धि ऐन पारित भएको एक हप्ता नबित्दै समितिले वन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयसँग राष्ट्रिय वनका अद्यावधिक लगत माग्ने निर्णय गरेको छ ।

समितिको आइतबार बसेको बैठकमा राष्ट्रिय वन भनी सूचीकृत भएका देश भरीका वनको हालको अवस्था, वनको नाप नक्सा, क्षेत्रफललगायतको विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई निर्देशन दिएको हो ।

देशभरी सुकुम्बासी, वस्ती विस्तार, उद्योग तथा खानीको नाममा राष्ट्रिय वन अतिक्रमंमा परेको समाचारमा आउन थालेपछि समितिले चासो देखाएको छ । समितिले हाल वन नै रहेको, झाडी रहेको र अतिक्रमंमा पर्न सक्ने सम्भावना भएको वनको वर्गीकृत अवस्था पनि उपलब्ध गराउन निर्देशन गरेको छ ।

यस्तै समितिको बैठकमा सांसदहरुले सरकारले रोकेको कित्ताकाट सम्बन्धि निर्णय पुनर्विचार गर्नुपर्ने माग राखेका छन् । सरकारले स्पष्ट रुपमा कित्ताकाट रोकेको भने पनि स्थानीय जनप्रतिनिधिको रोहबरमा भन्दै मालपोत कार्यालयहरुले कित्ताकाट गरिरहेका छन् ।

मालपोतको काम अपारदर्शी र जनताले समेत दुःख पाएको भन्दै सांसदहरु दलबहादुर राना र सत्यनारायण खनालले कित्ताकाट रोक्न गरिएको निर्णय पुनर्विचार गर्न माग गरे ।