देश

बेटी बचाऔँ बेटी पढाऔँ तर्फ बालिका र अभिभावकको आकर्षण

वीरगन्ज, भदौ ८–सात वर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिक जीवन बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा बित्थ्यो तर प्रदेश नं २ सरकारले ‘बेटी बचाऔँ बेटी पढाऔँ’ कार्यक्रम ल्याएपछि उनको आकर्षण पढाइतर्फ बढेको छ । अन्य विद्यार्थीजस्तै उनीपनि छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित श्रीदेवीस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भइन् ।

प्रदेश नं २ को सरकारको यो महत्वपूर्ण योजना ८ वटै जिल्लामा लागु गर्नाका साथै टाढाटाढा रहेका छात्रालाई विद्यालयमा आकर्षित गर्न साइकल वितरण गर्न थालेपछि यो अभियान सार्थक भएको अभिभावकहरुको ठम्याइ छ । छोरी पढाउँदा विवाहमा धेरै दाइजो दिनुपर्ने भनी छोरीलाई चुलोचौकामा सीमित राख्ने गरेका अभिभावक यो अभियान सञ्चालनमा आएपछि अहिले छोरीलाई पढाइतर्फ हौस्याउन थालेका छन् ।

वीरगन्ज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्द्रलाल कर्णले भने,‘साइकल वितरण हुँदा विद्यालयभन्दा टाढा रहेका छात्राको अध्ययनतर्फ आकर्षण बढ्नुका साथै उनीहरुलाई विद्यालय आउन पनि सजिलो भएको छ । सोही अभियानलाई निरन्तरता दिन अहिले पुनः छात्राहरुलाई साइकल वितरण कार्यक्रम सुरु गरिएको छ । यसै क्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाका ४० छात्रा र बारास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (मदर्सा) का ९२ छात्रालाई साइकल वितरण गरे । यसैगरी विश्रामपुर गाउँपालिकाले ७ लाख रूपैयाँ बराबरका साइकल कक्षा ८ र ९ का ९५ छात्रालाई वितरण गरेको उद्योगपति अजय प्रजापतिले बताए ।

प्रदेश २ का १३६ स्थानीय तहले यो अभियानलाई सार्थक पार्न प्रत्येक दिन साइकल वितरण कार्यक्रम गर्न थालेपछि विद्यालयभन्दा बाहिर रहेका छोरीहरुको विद्यालयप्रति आकर्षण बढ्दै गएको अभिभावक विजय पण्डितले बताए । (रासस)