विदेश

कश्मीरको अवस्था बुझ्न गएका राहुल गान्धी र अन्य विपक्षी नेतालाई श्रीनगरको विमानस्थलबाटै फर्काइयो

AppleMark

काठमाडौं, एजेन्सी, भदौ ८-भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धी र भारतका आठ विपक्षी दलका ११ नेतासँग शनिबार श्रीनगर पुगेका थिए। तर प्रशासनले तिनलाई विमानस्थलबाट बाहिर निस्कन अनुमति दिइएन। केही समयको विवादपछि उनीहरुलाई विमानस्थलबाटै दिल्ली फकाईएको थियो।

जम्मू–कश्मीरबाट धारा ३७० हटाइएपछि पहिलो पटक विपक्षी नेताको प्रतिनिधिमण्डल राज्यको यात्रामा गएका थिए। दिल्ली फर्किएपछि राहुलले कश्मीरको अवस्था सामान्य नरहेको प्रतिक्रिया दिएका छन्।

सञ्चारकर्मीसँगको कुराकानीमा राहुलले भने, ‘केही दिन पहिले गर्भनरले मलाई जम्मू–कश्मीर आउने निम्तो दिएका थिए। हामी कश्मीरका जनताको अवस्था बुझ्न चाहन्थ्यौँ। तर हामीलाई श्रीनगरको विमानस्थलबाट बाहिर जान अनुमति दिइएन। हामीसँग दुर्व्यवहार गरियो र सञ्चारकर्मीलाई पिटियो। यसले जम्मू–कश्मीरको अवस्था सामान्य नभएको देखाउँछ।’

राहुलसँगै कश्मीर गएका गुलाम नबी आजादले कश्मीरको अवस्था डरलाग्दो भएको बताए। उनले विमानमा सँगै यात्रारत केही कश्मीरी यात्रुले बताएको दुःखद अवस्थाले ढुङ्गालाई पनि रुवाउने बताए।

उता सीपीएमका महासचिव सीताराम येचुरीले विमानस्थलमा आफूहरुलाई गरिएको व्यहारबारे बताए, ‘जब हामीलाई विमानस्थलमा हिरासतमा लिइयो तब हामीले कुन आरोपमा पक्राउ गरिएको हो भनेर सोध्यौँ र आदेश देखाउन भन्यौँ । उनीहरुले हामीले त्यो आदेश पढेर सुनाए। जब हामी आदेश देख्यौँ त्यसमा हामी एकजुट भएर व्यवधान उत्पन्न गर्न पुगेको लेखिएको थियो।’

को–को थिए भ्रमणमा ?

राहुलसँग कश्मीर जानेमा कंग्रेसका नेताहरु गुलाम नबी आजाद, आनन्द शर्मा, केसी वेणुगोपाल थिए। त्यस्तै सीपीएम नेता सीताराम यचुरी, सीपीआई महासचिव डी राजा पनि प्रतिनिधि मण्डलमा सामेल थिए।

त्यस अतिरिक्त लोकतान्त्रिक जनता दलका नेता शरद यादव, डीएमके नेता तिरुची शिवा, राकांपा नेता माजिद मेमन, तृणमुल नेता दिनेश त्रिवेदी र राजदका मनोज झा सामेल थिए।

कश्मीरबाट धारा ३७० हटाइएपछि राज्यमा कुनै पनि राजनीतिक दलका नेतालाई जान अनुमति दिइएको छैन । कश्मीरी नेता तथा पूर्व मुख्यमन्त्री फारुख अब्दुल्ला, उमर अब्दुल्ला र महबूबा मुफ्तीलाई पहिलेदेखि नजरबन्दमा राखिएको छ।

कंग्रेस सांसद गलाम नबी आजादले यसअघि पनि कश्मीर प्रवेश गर्ने प्रयास गरेका थिए। उनलाई दुई पटकसम्म रोकिएको थियो। डी. राजालाई पनि पहिले श्रीनगर विमानस्थलबाट फिर्ता गरिएको थियो ।

मिडियामाथि दुर्व्यवहार

भारतका विपक्षी दलका नेताको कश्मीर भ्रमणलाई कभर गर्नको लागि विमानस्थलमा जम्मा भएका संचारकर्मीले आफूहरुमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका छन्।

विमानस्थल पुगेका पत्रकारका अनुसार प्रहरीले उनीहरुलाई विमानस्थल प्रतिरक्षा हैसियतको भएकाले भन्दै रोकेका थिए।

कश्मीरका राज्यपालले दिएका थिए राहुललाई निमन्त्रणा

जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० लाई रद्द गरेपछि राहुल गान्धी मोदी सरकारको आलोचना गर्दै कश्मीरको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए ।

त्यसपछि जम्मू–कश्मीरको राज्यपाल सत्यपाल मलिकले कश्मीर उपत्यकाको अवस्था सामान्य भएको भन्दै अवलोकनको लागि राहुललाई कश्मीर आउने निमन्त्रणा दिएका थिए।

उनले भनेका थिए, ‘म राहुल गान्धीलाई कश्मीर आउन निमन्त्रणा दिन्छु। म उनको यात्राको व्यवस्था नै गर्नेछु ताकि उनले यहाँको वस्तुस्थिति देख्न सकुन्।’ राहुल गान्धीले मलिकको निमन्त्रणा स्वीकार गरेका थिए।

बीबीसी

Featured