खेलकुद विदेश

भालाडोलिडसँग रियल बराबरीमा रोकियो

काठमाडौं, एजेन्सी, भदौ ८-स्पेनिस जाइन्टर किलर रियल म्याड्रिड ला लिगामा रियल भालाडोलिडसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियल म्याड्रिडले रियल भालाडोलिडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

खेलमा रियालले भालाडोलिडलाई दबाबमा राखेपनि आवश्यक गोल गर्न सकेन। ८२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाए। रियलको अग्रतालाई भालाडोलिडले पाँच मिनेटमै तोडेको थियो। ८८औं मिनेटमा भालाडोलिडका सर्जी गार्डीओलाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

खेलभर लगातार गोलको अवसर बनाएपनि थप गोल गर्न नसक्दा रियल अंक बाँड्न बाध्य बन्यो। प्रशिक्षक जिनेदिन जिदानले भालाडोलिडविरुद्ध ग्यारेथ बेल, हामेस रोड्रीग्वीज र इस्कोलाई पहिलो रोजाईमा राखेका थिए। बराबरीसँगै रियलले दुई खेलबाट चार अंक बनाएको छ। भालाडोलिडको पनि समान खेलबाटर चार नै अंक छ।

यसैगरी शनिबार रातिनै भएको अन्य खेलमा सेल्टाभिगोले भ्यालेन्सियालाई १–० गोलले हराएको छ। गेटाफे र एथ्लेटिक बिल्बाओले १–१ तथा इबर र ओसासुनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

Featured