देश

काठमाडौंमा राजावादीको प्रदर्शन

राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आव्हानमा राजसंस्थाको माग गर्दै प्रदर्शन भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रहलाई बेवास्ता गर्दै राजावादीले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएका उनीहरू जुलुससहित नयाँ बानेश्वरसम्म पुगी कोणसभामा परिणत भएका थिए ।

उनीहरूले पृथ्वीनारायण शाहको तस्वीर बोकेका थिए भने संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनर्स्थापना गर्नुपर्ने भन्दै नारा लगाएका छन् । सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना हुनुपर्ने र संघीयतासँगै धर्म निरपेक्षता खारेज हुनुपर्ने माग आफूहरूको रहेको बताए ।

जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शनलगायतका गतिविधि गर्न रोक लगाएको छ । तर पनि प्रदर्शनकारीले प्रशासनको सो आग्रहलाई बेवास्ता गर्दै प्रदर्शन गरेका हुन् । पछिल्लो समय राजावादीले देशभर प्रदर्शन गर्दै आएका छन् ।

Featured