देश

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार : नेता खनाल

काठमाडौं, भदौ ७–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपतिले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिक रुपमा तयार रहेको बताएका छन् ।

चीनमा आयोजना गरिएको ‘गुआङडोङ २१औँ शताब्दी म्यारी टाइम सिल्करोड अन्तर्रा्ष्ट्रिय एक्स्पो’ लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दक्षिण एसियामा बिआरआईका विरुद्ध लक्षित गर्दै चलेका अभियानको कुनै अर्थ नभएको टिप्पणी गरे । उनले त्यस्ता अफवाहविरुद्ध एक भएर लड्न नेपाल तयार रहेको बताए । नेता खनाल चिनियाँ सरकारको निमन्त्रणमा चारदिने चीन भ्रमणमा छन् ।

नेता खनालले सन् २०१७ मा बिआरआईमा नेपाल र चीनबीच भएको समझदारीपछि नेपाल औपचारिक रुपमा बिआरआईमा सहभागी हुने मुलुक बनेको बताए । उनले समझदारीपूर्व विभिन्न चरणमा द्विपक्षीय रुपमा विभिन्न समझदारी भएको स्मरण गरे । ती समझदारीपत्र बिआरआईको आधारपत्र तयार गर्न सहायक भएको उनको भनाइ थियो ।

नेपाल र चीनबीच १ हजार ६ सय वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै नेता खनालले अब सांस्कृतिक र व्यापारिक आधारमा नेपाल र चीनबीचको सम्बन्ध विकास गरिनुपर्नेमा जोड दिए । बिआरआईको प्रवाभकारी कार्यान्व्यनका लागि नेपाल–चीन आर्थिक करिडोरको विकास गर्न उनले प्रस्ताव गरे । त्यसैगरी ‘ट्रान्स हिमालय इकोनोमी करिडोर’ को स्थापना र नेपाल चीनबीचको रेल सञ्जालको सम्बन्धले सिल्क रोडको ल्हासा–काठमाडौँ–भारत खण्डलाई पुनर्जी्वित पार्ने र जसको लाभ नेपालले लिन सक्ने उनको भनाइ थियो ।

सम्बोधनका क्रममा नेता खनालले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धबारे स्मरण गरेका थिए । ‘काठमाडौँको सांस्कृतिक उत्कृष्टता चीनले आयात गरेको थियो । यसको नमुना अरनिकोद्वारा निर्माण गरिएको बेइजिङको सेतो प्यागोडाशैली देख्न सकिन्छ,’ उनले भने । उनले दुई देशबीच गहिरो सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहेको र इतिहासको विभिन्न कालखण्डमा दुई देशबीच वैवाहिक सम्बन्धसमेत स्थापित भएको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री खनालले अर्थतन्त्र, वातावरण संरक्षण, प्रविधि हस्तान्तरण, संस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा दुवै देशले सहकार्य गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताए । ‘आज नेपालले आर्थिक समृद्धि चाहेको छ, जुन दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धका आधारमा विकसित हुन सक्छ,’ उनले भने, ‘कर नीति, कानुन, नीति नियम र मुद्राको आदानप्रदानको सिधा प्रणालीलाई सहज बनाउने र अन्य गतिविधिमा दुई देशबीच एक समझदारी हुनु आवश्यक छ ।’

चीनमा आयोजित अर्को एक कार्यक्रममा उनले पर्यावरणको संरक्षण, हिमाली क्षेत्रमा बढ्दो मौसम परिवर्तन र वातावरणीय मुद्दालाई दुवै मुलुकले एक साथ सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । उनले नेपाल–चीनबीच कृषि तथा चिया, पर्यटन र अन्य विविध क्षेत्रमा द्वीपक्षीय सहयोग आदानप्रदान हुनसक्ने औंल्याए । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल बनाउन चीन सरकारको सहयोगको अपेक्षा गर्दै उनले नेपालले चिनियाँ पर्यटकलाई दिन सक्ने सुविधाबारे दुई देशबीच सहकार्य गर्न सकिने बताए । पूर्वप्रधानमन्त्री खनाल शनिबारै स्वदेश फर्कने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । (रासस)