विदेश

बंगलादेशले १६ रोहिंग्यालाई भसन चार टापूतर्फ पठायो

एजेन्सी, १९ मंसिर-बंगलादेशले कोक्स बजार वरपर विभिन्न शिविर बनाई बस्दै आएका १ हजार ६ सय शरणार्थीलाई शुक्रबार असुरक्षित भनिँदै आएको भसन चार टापूतर्फ पठाएको छ । करिब १ लाख रोहिंग्या शरणार्थीलाई नयाँ टापूमा सार्ने योजनाअन्तर्गत उनीहरूलाई त्यसतर्फ पठाइएको हो ।

उक्त टापू सामुद्रिक सतहबाट निकै कम उचाइमा रहेको र शरणार्थीलाई त्यहाँ सार्नु असुरक्षित हुने भनी विभिन्न मानव अधिकारवादी समूहहरूले विरोध जनाए पनि बंगलादेशको सरकारले शरणार्थी सार्ने कामलाई अघि बढाएको हो ।

सन् २०१७ मा म्यानमारको सेनाले अल्पसंख्यक रोहिङ्ग्या समुदायमाथि चलाएको कारबाहीपछि विस्थापित बनेका करिब १० लाख शरणार्थी बंगलादेश र अन्य एशियाली मुलुकका विभिन्न स्थानमा बस्दै आएका छन् । योमध्ये करिब ८ लाख शरणार्थी बंगलादेशमा रहेको उल्लेख गरिएको छ ।

बंगलादेश सरकारले कम उचाइ रहेको टापूमा आफूहरूलाई सार्न लागेको भनी शरणार्थी त्यसतर्फ जान अनिच्छुक रहेको भए पनि सरकारको दबाबपछि उनीहरू त्यसतर्फ गएको उल्लेख छ ।

उनीहरूलाई सामुद्रिक सतहबाट कम उचाइ रहेको टापूमा सार्दा शिविरलाई सामुद्रिक छालले डुवानमा पार्नसक्ने मानवअधिकारवादी समूहहरूको भनाइ रहेको छ ।

Featured