देश साहित्य

कल्प–ग्रन्थको अग्रिम बुकिङ ई–सेवाबाट

कुमार नगरकोटीको प्रकाशोन्मुख पुस्तक ‘कल्प–ग्रन्थ’को अग्रिम बुकिङ नेपालको पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले गर्ने भएको छ ।

नेपालमै पहिलो पटक प्रिमियम संस्करणका रूपमा प्रकाशन हुन लागेको सो पुस्तकको अग्रिम भुक्तान गर्नेबारे ई–सेवा नेपालका प्रमुख बजार अधिकृत युवराज विष्ट र बुक–हिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्काबीच आज सम्झौता भएको हो ।

अग्रिम भुक्तानका लागि ग्राहकले ई–सेवाको मोबाइल एपमा गई ‘कल्प–ग्रन्थ प्रि–बुकिङ’ क्लिक गर्नुपर्नेछ । त्यहाँ रहेको फाराममा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल र पुस्तकको मूल्य रुपैयाँ २०२१ भरेर आफ्नो प्रति सुरक्षित गर्न सक्नेछन् । दुई वा सोभन्दा बढी पुस्तकको अर्डरमा २ प्रतिशत क्यासब्याक पनि ग्राहकले प्राप्त गर्नेछन् ।

‘हामीले उपभोक्ताका हरेक रुचिलाई दृष्टिगत गरी भुक्तान सेवा उपलब्ध गराउँदै आइरहेका छौँ । यसपालि समाजलाई चेतनशील बनाउने पुस्तकको अग्रिम–भुक्तानसँग जोडिएर काम गर्दै छौँ । यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो’, सम्झौतापछि विष्टले भने ।

विश्वव्यापी रूपमा परिवर्तन भइरहेको पुस्तकबजार र लेखनलाई दृष्टिगत गर्दै अग्रिम–भुक्तानबाट यो पुस्तकको बजारीकरण गर्न लागेको बुक–हिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्काले बताए । उनले भने, ‘यो पुस्तक लेखनमा पूर्णतया नयाँ प्रयोग हो, त्यसैले बजारीकरणमा पनि हामीले प्रयोग गरेका हौँ ।’

आगामी १ फागुनसम्म अग्रिम–भुक्तानको सुविधा रहेको यो पुस्तक प्रि–अर्डर संख्या मात्रै मुद्रण हुनेछ । ७७७ पेजको यो पुस्तक विशेष कागजमा छपाइ हुनुका साथै पुस्तकका साथमा झोला, पोस्टकार्ड, बुक–मार्कलगायतका सामग्री पाठकले प्राप्त गर्ने बताइएको छ ।साथै, हरेक ग्राहकप्रतिमा लेखक कुमार नगरकोटीको विशेष अटोग्राफसमेत रहने प्रकाशक बुक–हिलले जनाएको छ ।पुस्तक आगामी १४ चैतमा सार्वजनिक हुने बताइएको छ ।

Featured