देश

किसानका उत्पादनमा बजारको सुनिश्चितता गर्छौं : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुलाई बजारको सुनिश्चितता सरकारले गर्ने आश्वासन दिएकी छन् ।

शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका उत्पादनको बजार सुनिश्चितता गरिने बताएकी हुन् ।

सरकाले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको बिक्री तिनै बिक्री केन्द्रबाट सुनिश्चित गरिने बताइन् ।

यस्तै किसानले उत्पादन गरेका वस्तु बिक्री गर्न सहकारीहरुले आफैं बजारको स्थापना गर्नुपर्नेमा जोड दिइन् । यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुने उनको भनाई थियो ।

अहिले बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले विचौलियालाई हटाउँदै, किसान, बजार र उपभोक्ताको दुरी कम गर्ने अभियान सुरु भइसकेको बताए ।

सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन् । सहकारी बजारलाई आधुनिक र गुणस्तरीय बनाउँदै लैजाने पनि मन्त्री अर्यालले बताइन् । सहकारी बजारको आफ्नै कोल्ड स्टोर स्थापना गर्ने, विषादिको परीक्षण गर्न प्रविधिको व्यवस्था गरी उपभोक्तालाई स्वस्थ्य खाद्य वस्तु उपभोग गर्ने वातावारण निर्माण गरिने बताइन् ।

Featured