देश

राम्रा काम नभए झैँ गरी समाज बहकिँदै गयो : मन्त्री ज्ञवाली

काठमाडौ, भदौ ७–परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतै गलत मात्रै भयो राम्रा काम भएकै छैन भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । अग्रगति र पश्चगतिको संघर्षको सम्मिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उनले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय बुद्धिजीवी तथा मिडिया नै बहकिएको बताए ।

काठमाडौँको मैतीदेवीमा होप फाउन्डेसनद्वारा शनिबार आयोजित वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले समाजमा विकृति विसंगति रहेको स्वीकार गर्दै भएका राम्रा कामलाई बिर्सन नहुनेमा जोड दिए । उनले भने, ‘सबै राजनीति खराबैखराब, चिकित्सक रोगीबाट पैसा मात्रै धुत्छन्, विद्यार्थी सबै चिट नै चोर्छन्, शिक्षकहरु सबै ठग्छन्, कर्मचारी सबै घुस्याहा नै हुन् जस्तो गरी आम जनरलाइज गरेर समाज अगाडि बढ्दै छ भन्ने कुरालाई ओझेलमा पार्ने कसिस भइरहेको छ ।’

समाजमा भएका खराबीविरुद्ध लड्ने सामर्थ्य सरकारसँग रहेको जिकिर गर्दै मन्त्री ज्ञवालीले प्रश्न गरे, ‘भूकम्प, नाकाबन्दी, चुनावलगायत कयौँ अफ्ठ्यारोलाई पार गर्दै नेपालले ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा खुसी हुनुपर्ने होइन ?’ बेल्जिएममा संघीयता कार्यान्वयन गर्न ११ वर्ष लागेको स्मरण गर्दै उनले नेपालमा पहिलो वर्षमै कार्यान्वयन हुनु ठूलो उपलब्धि भएको बताए ।

युगौँदेखि थोपरिएका समस्या रातारात समाधान नहुने प्रस्ट्याउँदै देशमा परिवर्तनका सकारात्मक संकेत देखिन थालेको उनको जिकिर थियो । समाजमा भ्रष्टाचार भए पनि पहिले जस्तो नभएको उहाँको दाबी छ । ‘कर्मचारी आएर लौन एक दिन भन्सार जान पाएको छैन, मालपोत जान पाएको होइन भनेर, नेताहरुलाई सधैँभर तनाव हुन्थ्यो तर आज भन्सार र मालपोतमा मलाई पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ, यसको अर्थ के, त्यहाँ प्वाल बन्द हुन थालेछ, यो त सत्य हो नी,’ मन्त्री ज्ञवालीले भने ।

ठाउँमै निसाना लागेकाले अख्तियारमै बसेका मान्छेले मुख लुकाउँदै राजीनामा दिएर हिँड्नुपर्ने अवस्थाको सिर्जना भएको जानकारी गराउँदै उनले विकृति विरुद्धको लडाइँ सुरु भएको उल्लेख गरे । फरक प्रसंग जोड्दै मन्त्री ज्ञवालीले नेपाली समाजको बहुआयामिक संस्कृतिलाई अगाडि ल्याउन र कर्णालीलाई चिनाउन वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीले गरेको योगदानको प्रशंसा गरे ।

बेइजिङ ओलम्पिकमासमेत उत्कृष्ट १० मा छनोट भएको मुलुकको राष्ट्रगान छनोटको नेतृत्व गर्ने जोशीको योगदानको राज्यले उच्च मूल्यांकन गरिरहेको र गरिरहने बताउँदै उनले जोशीलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे । मुलुकका अन्य गतिविधि पछाडि परे पनि संस्कृतिका हिसाबले नेपाल अन्य देशको तुलनामा अब्बल रहेको उनको भनाइ थियो । विश्व व्यापारीकरणलगायत कारणले पश्चिमा संस्कृति भित्रिँदा मौलिक संस्कृतिमा अतिक्रमण भइरहेकोमा उनले चिन्ता प्रकट गरे । उनले गलत गतिविधि रोक्दै पश्चिमाहरुको विकासबाट पाठ सिकेर गलत परम्परालाई हटाउँदै जानु अहिलेको आवश्यकता रहेको बताए । (रासस)

Featured