देश

बैतडीको प्रहरी चौकीमा झडप हुँदा १ घाइते, ६ जना प्रहरीको नियन्त्रणमा

बैतडीको एक प्रहरी चौकीमा दुई समूहबीच झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका- ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा दुई समूहबीच झडप भएको हो ।

स्थानीय गणमेश्वर मन्दिरमा लागेको मेलामा महिला जिस्काएको निहुँमा दुई समुहबीच झडप भएपछि छलफलमा लागि प्रहरी चौकीमा बोलाएका बेला पुनः झडप भएको प्रहरीले जनाएको छ।

स्थानीय युवाको दुई समूहबीच प्रहरी चौकीमा झडप हुँदा पञ्चेश्वरका ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएको बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले घाइतेको बैतडीमा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको बताए ।

६ जना प्रहरीको नियन्त्रणमा

चौकीमा झडप गर्नेमध्ये सोधपुछका लागि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी अधिकारीले जानकारी दिए । नियन्त्रणमा लिएकालाई सोधुपुछ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

‘अघिल्लो दिन मेलामा झडप गरेका दुई समूहलाई चौकीमा छलफलका लागि बोलाउँदा पुनः झडप भएको रहेछ । झडपका क्रममा प्रहरी चौकीमा सामान्य क्षति पुगेको छ,’ उनले भने ।

Featured