देश राजनीति

१ बजे नेकपा सचिवालय बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।  मंगलबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पूर्वनिर्धारित अर्को कार्यक्रम रहेका कारण बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएपछि बैठक बस्ने नबस्ने भन्नेबारे अन्योलता देखिएको थियो ।

तर बुधबार नेकपा सचिवालयको बैठक पूर्वनिर्धारित समय र स्थानमा नै बस्ने नेताहरुले बताएका छन् । वरिष्ठ नेता झलनाथ खनालले भने सचिवालय बैठक निर्धारित समयमा नै बस्ने बताएका छन् । उनले भने, ‘तय भइसकेको बैठकमा सहभागी नहुने छुट कसैलाई पनि हुँदैन । त्यसैले बैठक कुनै पनि हालतमा बस्छ र छलफल अघि बढ्छ ।’

यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्रीले बैठकमा नआउने औपचारिक कुनै पनि जानकारी नगराएकाले अध्यक्ष प्रचण्ड सचिवालय बैठककै तयारीमा रहेको जानकारी दिए ।

यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित हुने बताएका छन् । उनले बैठकमा नजाने भनेर नियोजित रुपमा बाहिर हल्ला चलाइएको भन्दै ओली बैठकमा सहभाग हुने जानकारी दिएका छन् ।

लामो समयदेखि आन्तरिक विवादमा रुमल्लिएको नेकपामा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलग अलग प्रस्ताव बैठकमा पेश गरेका छन् ।

२८ कात्तिकमा प्रचण्डले र १३ मंसिरमा ओलीले पेश गरेको प्रस्तावमाथि मंगलबारदेखि सचिवालय बैठकमा नेताहरुले धाराणा राख्ने क्रम सुरु भएको छ । बुधबारको बैठकमा पनि नेताहरुले दुवै प्रस्तावमाथि धाराणा राख्नेछन् ।

Featured