देश

विपक्षीले असहयाेग गरेपछि वडाध्यक्षले दिए राजीनामा

राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनामा कोभिडको असरसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गर्ने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनामा कोभिडले पारेको असरसम्बन्धमा स्थलगत अनुगमन गरी अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिन उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुगमन गर्ने, सरोकारवाला पक्षसँग छलफल गर्ने र सरकारलाई निर्देशन एवं सुझाव दिने गरी उपसमिति गठन गरेर समितिका क्रियाकलापलाई अगाडि बढाउने निर्णय भएको बताइन् ।

कोभिड संक्रमणको जोखिमका कारण समितिका नियमित बैठक प्रभावित भएको र अबदेखि बैठकलाई निरन्तरता दिनका लागि उपसमिति बनाएर काम गर्ने तयारी गरिएको सभापति रावलले बताए ।

पछाडि परेको क्षेत्र, समुदाय, मानवअधिकारको सन्दर्भमा, राष्ट्रिय सम्पदा, राष्ट्रिय सुरक्षा, विभिन्न सन्धि सम्झौतालगायतका विषयमा पनि समितिले छलफललाई अगाडि बढाउने गरी कार्ययोजना निर्माण गरिएको सभापति रावलले बताइन् ।

यस्तै लैंगिक हिंसाविरुद्धका विषयमा तीन तहका सरकार र जनप्रतिनिधिको भूमिका सम्बन्धमा पनि छलफल चलाउने निर्णय बैठकले गरेको छ । समितिले प्रस्ताव गरेको संघ, प्रदेश र स्थानीय तह अन्तर सम्बन्धको विषयमा गोष्ठी गर्ने सम्बन्धमा समेत छलफल भएको सभापति रावलले बताए ।

Featured