देश

नेपालगञ्ज विमानस्थललाई हब एयरपोर्ट बनाउँछाैँ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको हब एयरपोर्टको रूपमा विकास गरिने बताएका छन् । नेपालगञ्ज विमानस्थलको गुरुयोजनाअनुसार विस्तार र विकासका लागि जग्गा अधिग्रहणलगायतका काम सुरु गर्न लागिएको उनले जनाए ।

नवनिर्मित विमान पार्किङको उद्घाटन गर्दै उनले जग्गा अधिग्रहणबाहेक नेपालगञ्ज विमानस्थलमा ४ अर्ब रुपैयाँ लगानी गर्न लागिएको उल्लेख गर्दै भने, ‘विमानस्थलको टर्मिनल भवन नयाँ बनाइनेछ । रनवे विस्तार गरिँदै छ ।  अरू भौतिक सुविधा र प्राविधिक सुविधा थप गरिनेछ ।’

२८ करोड ५३ लाख रुपैयाँकाे लागतमा निर्मित ३२० मिटर लम्बाइ र ६४ मिटर चौडाइको विमान पार्किङ बनाइएको हो । सो पार्किङ लटमा ८ ओटा एटीआर एवं सीआरभी र चारवटा ट्विनअटर विमान गरी १२ विमान अटाउने नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बताए । बोइङ र एयरबस ३२० सम्मका विमानसमेत पार्किङ गर्न मिल्ने उनले जनाए ।

तत्कालीन पर्यनटमन्त्री स्व. रवीन्द्र अधिकारीले १५ कात्तिक २०७५ मा शिलान्यास गरेको पार्किङ लट दुई वर्ष एक महिनापछि निर्माण पूरा भई उद्घाटन भएको हो । कान्छा कन्स्ट्रक्सन प्रालिले निर्धारित समयमै सो निर्माण सम्पन्न गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले नेपालगञ्ज विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने कार्यलाई टुंगोमा पुर्‍याउनका लागि मन्त्री भट्टराईलाई आग्रह गरेका थिए ।

Featured