विदेश

धान काटिरहेका ४२ किसानको हत्या

एजेन्सी, १५ मंसिर-नाइजेरियामा बोको हराम विद्रोही समूहले ४२ जना धान काटिरहेका कृषकको हत्या गरेको छ । उत्तरपूर्वी बोर्नो राज्यमा गार्बिन बासेबे समुदायका मानिसहरुको हत्या भएको हो । १३ वर्षपछि सो राज्यमा मतदान भइरहेका बेला किसानको हत्याको घटना सार्वजनिक भएको हो ।

काम गरिरहेका किसानलाई एकै स्थानमा जम्मा पारेर नरसंहार मच्चाएका थिए । केही स्रोतले मृत्यु हुनेको संख्या ६० हुनसक्ने जनाएका छन् । नाइजेरियाका राष्ट्रपति मुहमद बुहारीले बोको हरामले मच्चाएको नरसंहारप्रति दुःख प्रकट गरेका छन् । हमलाभन्दा अघि त्यहाँका केही किसानले बोको हरामका एक आतंकवादीको हतियार खोसेर प्रहरीमा बुझाएको बताइएको छ ।

विद्रोहीले किसानसँग जबर्जस्ती पैसा उठाएर दुःख दिने गरेका थिए । सुरक्षाकर्मीले यसरी जबर्जस्ती असुली गर्ने विद्रोहीलाई नियन्त्रणमा लिन नसकेपछि उनीहरुले किसानको हत्या गरेको बताइएको छ ।

Featured