विदेश

बाइडेनको सिनियर प्रेस टिममा सबैजना महिला

एजेन्सी, १५ मंसिर-अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो सिनियर प्रेस टिममा महिलालाई मात्रै स्थान दिएका छन् । उनको कार्यालयले अमेरिकी इतिहासमा नै पहिलो पटक प्रेस टिममा महिलाले मात्रै अवसर पाएको जनाएको छ ।

उनको प्रेस टिमको नेतृत्व केट बेडिङ्गफिल्डले गर्नेछिन् । उनी बाइडेनको चुनावी अभियानकी डेपुटी कम्युनिकेशन डाइरेक्टर हुन् । राष्ट्रपति बाराक ओबामाको कार्यकालमा ह्वाइट हाउसको कम्युनिकेशन डाइरेक्टर रहेकी जेन साकी बाइडेनकी प्रेस सचिव हुने भएकी छन् ।

बाइडेनले देशको विविधतालाई दर्शाउने गरी आफ्नो टिममा पनि विविधता ल्याउने बताएका छन् । बाइडेनले भनेका छन्, ‘मलाई ह्वाइट हाउसको पहिलो सिनियर कम्युनिकेशन टिममा सबै महिलालाई स्थान दिन पाउँदा मलाई गर्व अनुभूति भएको छ ।’

निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको दुई मुख्य प्रेस सहयोगीमा सिमोन स्यान्डर्स र एश्ली एटिन रहनेछन् । आगामी २० जनवरीमा शपथ लिन लागेका बाइडेनले पहिलो गुप्तचर ब्रिफिङ आज पाउँदैछन् ।

Featured