डेनमार्कमा एक नेपाली मास्टर बेकरले एक लाख क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ पुरस्कार जितेका छन् । प्रत्येक वर्ष डेनमार्कको प्रख्यात संस्था एपी मुलर फाउन्डेन्सनले प्रशिक्षार्थीलाई छात्रवृत्तिस्वरूप प्रदान गर्ने पुरस्कार यसवर्ष नेपालका सन्जिवले हात पारेका हुन् ।
संस्थाले बेकरी र हाेम पेन्टिङ विधामा सर्वोकृष्ट हुनेलाई पुरस्कृत गरेको हाे । बेकरी विधामा सन्जिवले पुरस्कार पाए । यो पुरस्कार पाउने डेनमार्कमा कार्यरत नेपालीमध्ये गिरी पहिलो व्यक्ति हुन् । छात्रवृत्तिको रकमले फ्रान्समा गएर थप अध्ययन गर्ने उनले बताए । फ्रान्स बेकरीमा विश्वप्रख्यात छ।
फ्रान्समा सावरडो ब्रेड (Sourdough Bread) र आर्टिसन बेकिङ (Artisan baking) लिएर स्वदेशमै केही गर्ने उनले बताए । नेपालमा बेकरी स्कुल सञ्चालन गर्ने उनकाे याेजना छ ।
गिरीले भने, ‘म यो पुरस्कारकाे दाबेदार होऊँला भन्ने साेचेकाे पनि थिइनँ । म काम गर्ने कम्पनीले यस्तो छात्रवृत्तिकाे जानकारी दियो र म पढिरहेको जेडबीसी स्कुलले मलाई सिफारिस गरिदिएकाले सहभागी भएँ । अन्ततः मैले पुरस्कार जितेँ ।’
२०४२ सालमा काठमाडौंको नागार्जुन नगरपालिका रामकोटमा जन्मिएका गिरीले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायबाट स्नातक गरेका छन् । टिवोलीको निम्ब र एन्डरसन बेकरीमा काम गर्दै उनले जेडबीसी रिङ्गस्टेडबाट सन् २०१९ मा बेकरीमा स्नातक गरेका छन् ।
गिरीले ११ वर्ष अघि होटल सोल्टी, त्यसअन्तर्गतकाे एलएसजी स्काई सेफ तथा होटल द्वारीकाजमा काम गरेका थिए। हाल डेनमार्कको राजधानी कोपन हेगन एन्डरसन बेकरीमा सन् २०१० देखि मास्टर बेकरको रूपमा उनी काम गरिरहेका छन्। सन्जिव बेकरीसम्बन्धी उच्च शिक्षा अध्ययन गर्न सन् २०१० मा डेनमार्क पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस