देश

धार्मिक र प्राकृतिक पर्यटकीयस्थल शिवपुरी क्षेत्र

काठमाडौं, भदौ ७– नमस्ते देवी वाग्मत्यै सर्व दुस्कृत नाशिनी । अधमे धुलितं पापं त्वद्दं शनिश्चिराजिमत् ।।’ वाग्मतीको मुहान वाग्द्वारमा यो श्लोक लेखिएको छ । यो वाग्मतीको महिमा गान हो ।

शिवपुरी जंगलमा घुम्दा खुसी भएका महादेव हाँस्दा हाँसोसँगै निस्केकी हुनाले नदीको नाम वाग्वती रहन गएको प्रसंग स्कन्ध पुराण हिमवत् खण्डको नेपाल महात्म्यमा पाइन्छ । शिवपुरी क्षेत्रको पवित्रता यसैमा वर्णित छ । वाग्मतीको मुहानमा बाघको मुखाकृतिबाट पनी निस्केको देखाइएको छ । यो नेपाल महिमासँग मेल खाँदैन । इतिहास पढेकालाई बाघको मुखाकृतिबाट पानी निस्केको देखेपछि नराम्ररी ठेस लागेको अनुभूति हुन्छ ।

‘वाग्वतीं सरितां श्रेष्ठां महादेवमुखोद्भवाम्’ नेपाल महिमा ११ अध्याय ९८ औं श्लोकमा लेखिएको छ । यसको अर्थ ‘वाग्मती महादेवको मुखबाट उत्पत्ति भएकी हुन्’ हो । अज्ञानताबस बाघ अर्थ लगाएर बाघको मुखबाट पानी आएको देखाउनुलाई महान् गल्ती भन्नु मात्र पनि समाधान होइन । कमसेकम अब इतिहास हेरेर भए पनि सुधार नगर्नु चाहिँ गल्ती हुन जान्छ । अतः यहाँ महादेवको मुखाकृतिबाट पानी निस्केको देखाएर वास्तविक इतिहास देखाउन स्थानीयले ढिला गर्नु हुँदैन । ‘वाक्’ को अर्थ वाणि हो । वाणिको स्रोत मुख हो । पुराणमा वर्णित वाग्वती नदी हाल वाग्मतीको मुहानमा मुखाकृति देखाउने हो भने देवाधिदेव महादेवको मुखाकृति बनाउनु उपयुक्त देखिन्छ ।

बाघको मुखाकृतिबाट पानी आएको देखाउँदा २४ वर्षदेखि त्यही पुण्यभूमिमा तपस्यारत टोड्के बाबाले आपत्ति जनाउँदा कसैले सुनेन रे । वाग्मतीको मुहानमा राखिने आकृतिसँग त्यहीँ १४ वर्षदेखि तपस्यारत ॐ बाबालाई भने कुनै सरोकार छैन । उहाँले वाग्मती नदी प्रादुर्भावको रोचक कथा भने छोटकरीमा सुनाउनुभयो । भागीरथी नदीले समुद्र भरिएर संसार डुबाउन लागेपछि पार्वती माताले संसारलाई जोगाउने उद्देश्यले भागीरथीलाई रोक्नुभयो । पुनः पवित्र नदीको आवश्यकता परेपछि भगवान् शिवले वाग्वती सृष्टि गर्नुभयो । उहाँले अत्यन्त छोटकरीमा वाग्द्वारलाई मुक्ति हुने ठाउँ भन्न रुचाउनुहुन्छ ।

तपस्यारत बाबाद्वयका अनुसार वाग्द्वार माथिको शिवपुरी चुचुरोमुनि भूमिगत जलाशय छ रे । वर्षामा जम्मा भएको पानी निरन्तर वाग्द्वार भएर बग्छ रे । बाबाहरुको भनाइमा कति सत्यता छ भन्न सकिन्न तर वाग्द्वारबाट निरन्तर पानी बग्दै छ । वाग्द्वारमा तीनवटा ढुंगेधारा छन् । वाग्द्वारबाट निस्केको पानी करिब २० फुट लम्बाइ र त्यति नै चौडाइको वर्गाकार पोखरीमा जम्मा हुन्छ । यो पोखरी टोड्के बाबाको अगुवाइमा निर्माण गरिएको रहेछ ।

वाग्द्वारमाथि समुद्र सतहबाट २७३२ मिटर उचाइमा शिवपुरी चुचुरो छ । यहाँ हरेक हिउँदमा हिउँ पर्छ । शिवपुरी बाबाको तपस्यास्थल यो चुचुरोमा वरिपरि पर्खाल उठाएर ठुलो मैदान बनाइएको छ । मैदानको पूर्वपट्टि शिवपुरी बाबाको शालिक स्थापना गरिएको छ । चौर करिब ५५ मिटर लम्बाइ र २५ मिटर चौडा छ । चौरको पश्चिमतर्फ एक फिट जति अग्लो २० जना जति अटाउने चौतारो बनाइएको छ । चौरको पूर्वतर्फ शिवपुरी बाबाको वास्तविक आकारमा सेतो सालिक जस्ताले छाएको गोलाकार कुटीमा स्थापना गरिएको छ ।

चौर वरिपरि बाँझका ठूला रुख, गुराँस, अँगेराका रुख तथा चौतारी र निगालाका बुट्यान देखिन्छ । शिवपुरी चुचुराको पश्चिमपट्टि पाँच मिटर जति होचो भागमा हावाले छानो बिगारेर भत्किएको अवस्थाको जस्ताले छाएको टहरो छ । टहराको पश्चिमतिर ६ मिटरजति होचो भागमा वरिपरि दुई–तिन मिटर जति पर्खाल उठाएर सम्याएर बनाइएको प्राचीन भग्नावशेष छ । यसलाई हेर्दा पौराणिक राजा सूर्यकेतुको दरबार यहीँ भएको अनुमान गर्न सकिन्छ । मानवीय अतिक्रमणको चपेटामा नपरेको यो ठाउँ साँच्चै मनमोहक पनि छ । वरिपरिको जंगलले यस ठाउँमा पुग्दा स्वर्ग बिर्साइदिन्छ ।

शिवपुरी बाबा
भगवान शिवको क्रीडास्थल शिवपुरीबाट दक्षिणतिर अरु ससाना हरियालीयुक्त पहाड देखिन्छन् । उत्तरतिर हिमालयको दृश्यावलोकन गर्न पाइन्छ । शिवपुरीको पश्चिमतिर ढुंगेसिँढीबाट ओरालो झर्दा एउटा भीमकाय ढुंगो छ । यो ढुंगालाई कामधेनु शिला भन्दा रहेछन् । कामधेनुको महिमा जान्न पुराण खोतल्नुपर्ने हुन्छ । मनले चिताएको दिन सक्ने गाईको नाम काम धेनु हो । यी कामधेनुको सेवा ऋषिहरुले गर्थे भन्ने पुराणमा उल्लेख छ । शिवपुरीमा पुगेपछि दृश्यावलोकन गर्ने स्थल प्रशस्त भए पनि अग्लो ढुंगा भएकाले यहाँ चढ्ने उपमक्रम गरेर दृश्यावलोकन स्थल बनाएका छन् । यो पुण्य शिलामा नचढ्दा राम्रो हुने सल्लाह वाग्द्वारमा तपस्यारत ॐ बाबा दिनुहुन्छ ।

कामधेनु शिलाको पूर्वपट्टि त्यस्तै ठूलो पत्थर (ढुंगा) छ । यो पत्थरलाई शतरुद्रेश्वर महादेव भनी चिनाइएको छ । वाग्द्वारमा तपस्यारत ॐ बाबाका अनुसार शतरुद्रेश्व १०८ रुद्रमध्ये ७० औं रुद्र हुन् । शतरुद्रेश्वरको दक्षिणतर्फ फेदमा गुफा छ । गुफामा ढोकासमेत राखिएको छ । ढोका खुलै अवस्थामा छ । वैशाख पूर्णिमा मेलाका अवसरमा यहाँ मानिसहरू बस्दा रहेछन् । यसको पूर्व र पश्चिम र उत्तरमा नुवाकोट जिल्ला पर्दो रहेछ । दक्षिणमा बूढानीलकण्ठ नगरपालिका पर्छ ।

वाग्द्वार शिवपुरीको तलपट्टि पर्छ । यहाँबाट शिवपुरी पुग्न उकालो हिँड्दा आधा घण्टा लागे पनि दूरीका हिसाबले टाढा भन्न मिल्दैन । कामधेनु शिला र शतरुद्रेश्वरको महिमा भिन्दाभिन्दै भए पनि यी शिवपुरीमै पर्छन् । शिवपुरीबाट उत्तरतिर तलपट्टि गरा परेका खेत र बस्ती पनि देखिन्छ । पश्चिमतर्फ जंगल छ । जंगलसहित पहाडको शृंखला, दक्षिणतर्फ जंगलपछि काठमाडौंको उत्तरी सहर देखिन्छ । पूर्वतर्फ भने जंगल मात्र देखिन्छ । कामधेनु शिलाको विशाल पत्थर पश्चिमतर्फ झुकेको छ । पश्चिमी फेदमा मेलाका अवसरमा मानिस बसेर धुनी बालेको खरानी छ । यो पत्थरलाई कामधेनु शिला भनेर बोर्ड राखिएको छ । यो शिलाबारे जिज्ञासा राख्दा वाग्द्वारमा तपस्यारत ॐ बाबाले पवित्र कामधेनु शिलामा मानिस चढेर अपवित्र बनाए, त्यहाँ टेक्नु हुन्न भन्नुहुन्छ ।

नेपाल सरकारले यो क्षेत्रलाई राष्ट्रिय निकुञ्जका रुपमा विकास गरेको छ । यस क्षेत्रमा ध्वाँसे चितुवा, चरिबाघ, सालक, पहरेबाँदर जस्ता संरक्षित स्तनधारी वन्यजन्तु र चितुवा, हिमाली कालोभालु वन्यजन्तु, काँडेभ्याकुरलगायत करिब ३१८ प्रजातिका चराहरु पाइन्छन् । यसको महत्व स्कन्ध पुराण हिमवतखण्ड नेपाल महिमामा उल्लेख गरिएको छ । यहाँ देवाधिदेव महादेवको बास छ । यहाँ शिवपुरी बाबाले वर्षौं तपस्या गरेको देख्नेहरू जीवितै छन् । यसको पूर्वमा नुवाकोट जिल्ला, पश्चिममा नुवाकोट जिल्ला, उत्तरमा नुवकोट र दक्षिणमा बूढानीलकण्ठ नगरपालिका पर्छ ।