देश

संसदीय समितिमा सरकारको जवाफ– संवैधानिक परिषद्मा बहुमत पुर्‍याउनै सकिएन

संसदीय सुनुवाइ समितिले रिक्त रहेका संवैधानिक निकायलाई पूर्णता दिन सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समितिको बैठकले संवैधानिक अंग रिक्त हुनु दुर्भाग्यपूर्ण भएकाले यथाशीघ्र पूर्णता दिन निर्देशन दिएको हो।

सरकारको आधा कार्यकाल समाप्त भइसक्दा समेत संवैधानिक निकाय रिक्त हुनु लज्जास्पद भएकाले तत्काल पूर्णता दिन निर्देशन दिइएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।

‘सरकारको आधा कार्यकाल सकियो अझैपनि संवैधानिक अंगहरु भने रिक्त छन् यसले त लाजमर्दो अवस्था सिर्जना भएको छ त्यसैले तत्काल पूर्णता दिन समितिले निर्देशन दिएको हो,’ उनले शिलापत्रसँग भने। हाल १० वटा संवैधानिक निकायमा ४० पद रिक्त छन् ।

सरकारले आदिवासी तथा जनजाति आयोगमा अध्यक्षसहित चार सदस्य नियुक्ति गर्न बाँकी छ । यस्तै राष्ट्रिय महिला आयोगमा पनि अध्यक्ष र चार सदस्यको पद रिक्त छ ।  राष्ट्रिय दलित आयोगमा पनि अध्यक्ष र चार सदस्य नियुक्ति गर्न बाँकी छ । मुस्लिम आयोग, थारू आयोग, मधेसी आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार-चार सदस्यको पद रिक्त छ ।

सरकारले समावेशी आयोगमा अध्यक्ष र तीन सदस्य नियुक्ति गर्न बाँकी छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त र निर्वाचन आयोगमा दुई आयुक्त नियुक्त गर्न बाँकी छ । समितिको बैठकमा उपस्थित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बहुमत नपुग्दा संवैधानिक परिषद्को बैठक नबसेकाले नियुक्तिमा ढिलाई भएको बताए।

‘संवैधानिक निकायमा नियुक्ति गर्ने निकाय भनेको संवैधानिक परिषद् हो। सरकार पनि छिट्टै पूर्णता दिने पक्षमा छ तर बहुमत नपुग्दा परिषद्को बैठक बस्न सकिरहेको छैन,’ उनले भने।  बैठकमा समिति सभापति कर्णले बहुमत पुर्‍याउने जिम्मेवारी सरकारकै रहेकाले त्यसमा आलटाल नगर्न निर्देशन दिए।

Featured