देश राजनीति

प्रचण्ड–नेपालको प्रतिवेदन तल्लो कमिटीमा लैजाँदा व्यवस्था बर्बाद हुन्छ : ओली समूह

नेकपाको विवाद सचिवालयबाट तन्किएर स्थानीय तहसम्म पुग्दै छ । खासगरी, कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपाल समूहले आफ्नो मतसहितको पुस्तिका तल्लो तहमा वितरण गरेपछि परिस्थिति भिन्नै बन्दै छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूह जसरी पनि तल्ला कमिटीमा छलफल हुन नदिने प्रयासमा छन् । उनीहरूले सामूहिक निर्णय गरेर नै अवरोध गर्ने तयारी गरेका छन् ।

त्यसो त, प्रचण्ड–नेपाल समूह पनि समूहगत छलफल गरे अल्पमत बहुमतको अभ्यासभन्दा पनि धारणा निर्माणमा सहयोग गर्ने रणनीतिमा छन् । प्रतिवेदन तल्ला कमिटीमा लैजाने यो समूहको निर्णयले दुईवटा सन्देश प्रवाहित गर्न खोजेको छ । एक, बहुमत सदस्यको साथमा कार्यकारी अध्यक्षको अभ्यास । दोस्रो, ओली प्रवृत्तिलाई तल्लो तहसम्म विस्तार गर्ने ।

त्यसो त, प्रतिवेदन प्रकाशित गरेर तल्लो कमिटीमा पठाउने रणनीति ओलीलाई कमजोर बनाउन गरिएका प्रयास हुन् । प्रतिवेदन सरसर्ती अध्ययन गर्दा ओलीका कारण पार्टी र सरकार बद्‌नाम भइरहेको र आउँदो निर्वाचनमा पत्तासाफ हुने धारणा प्रचार हुन्छ ।

यही सन्देश प्रवाहित गरेर प्रचण्ड–नेपाल समूह सरकार वा पार्टी सत्ताबाट विस्थापित गर्न चाहन्छन् । नेता माधव नेपालको लाइन सकेसम्म पार्टीको अध्यक्ष ओलीबाट उम्काउन चाहन्छन् । र, प्रचण्ड प्रधानमन्त्रीबाट ओलीलाई विस्थापित गर्न चाहन्छन् । ओलीलाई प्रधानमन्त्रीबाट विस्थापित गर्न सके त्यसमा माधव नेपाललाई पठाउँदा पार्टीमा आफू हाबी हुन सक्ने प्रचण्डको आँकलन छ ।

ओलीनिकट स्थायी समिति सदस्य सत्यनारायण मण्डलले प्रचण्ड–नेपाल समूहले पार्टी मात्र होइन, देशलाई बर्बादीको बाटोमा लैजाने प्रयास गरिरहेको आरोप लगाउँछन् । मण्डलले  भने– ‘उनीहरूले देशलाई बर्बादीमा लैजाँदै छन्, र ओलीको मात्र कुरा होइन, व्यवस्थामै गम्भीर आँच पुर्‍याउन उद्यत् छन् ।’

यता, ओली समूह भने प्रचण्ड–नेपाल समूहले तल्लो तहमा पठाएको प्रतिवेदन बहिष्कार मात्र होइन, छलफलमा अवरोध गर्नेसम्मको तयारीमा छ । त्यसका लागि ओलीनिकट विद्यार्थी नेताहरूले सामूहिक निर्णय पनि गरिसकेका छन् । बुधबार मदन भण्डारी कलेजमा बैठक बसेर विद्यार्थी नेताहरु ऐन महर, रश्मि आचार्य, सुनिता बराल, आरसी लामिछानेलगायतका विद्यार्थी नेताहरूले जमघटले प्रतिवेदन छलफल अवरोध गर्ने निर्णय गरेका छन् ।

Featured