देश

पश्चिमी वायुको प्रभाव : आज हल्का हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश  स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पश्चिमी वायुको प्रभाव आज बेलुकादेखि विस्तारै कमजोर हुँदै जाने मौसमविद् समिर श्रेष्ठले बताए । ‘शुक्रबारदेखि मौसम सुधार हुन्छ,’ श्रेष्ठले भने, ‘तत्काललाई वर्षाको सम्भावना छैन ।’

हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । देशभर अपराह्न आंशिकदेखि सामान्य बदली भई गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस छ ।

त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ५ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम १३ दशमलव ८ डिग्री सेल्सियस छ ।

Featured