देश शिक्षा

गोरखा नगर क्षेत्रका विद्यालय १५ मंसिरसम्म बन्द

गोरखा, ६ मंसिर-गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना संक्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही १५ मंसिरसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले नगरक्षेत्रभित्र समुदायस्तर तथा शिक्षकमा पनि कोरोना संक्रमण देखिएकाले थप संक्रमण हुन नदिन सबै निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

‘नगरपालिकाभित्र थप सावधानी अपनाउनुपर्ने देखिएकाले शिक्षण सिकाइ बन्द गर्नुपरेको हो,’ उनले भने, ‘अन्य क्रियाकलाप गर्दासमेत अनिवार्य सुरक्षा मापदण्ड अपनाएर मात्र गर्नसमेत सबैलाई अनुरोध गरिन्छ ।’ नगरपालिकाभित्र शुक्रबारसम्ममा शिक्षक तथा कर्मचारीसहित ६५ जना सक्रिय संक्रमित रहेको बताइएको छ । ती संक्रमितको सम्पर्कमा रहेकाको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्थितिलाई सामान्य अवस्थामा ल्याउ नगरपालिकाभित्रका सबै विद्यालयमा सञ्चालित प्रत्यक्ष सिकाइ सहजीकरण पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए।

उनले संक्रमणको आशंका र कन्ट्रयाक्ट ट्रेसिङमा परी कोरोना परीक्षणका लागि स्वाब दिएका व्यक्ति रिपोर्ट प्राप्त नहुँदै समुदायस्तरमा निस्कने र घुलमिल गर्ने गरेको भन्ने गुनासोसमेत आएकाले स्वाब दिएकालाई अनिवार्य आइसोलेशनमा रहन पनि आग्रह गरे । रोगको संक्रमण फैलन नदिन तथा संक्रमणबाट अरुलाई जोगाउनका लागि स्वाब दिएका व्यक्ति अनिवार्य आइसोलेशन बसेर सहयोग गरिदिन नगरपालिकाले आग्रहसमेत गरेको छ ।

त्यस्तै, नगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर नस्किन र निस्कनै परे मास्क लगाउन,, व्यापार व्यवसाय, कार्यालयको सेवा, सामाग्री ढुवानीलगायतका कार्य गर्दा अनिवार्य सुरक्षा मापदण्ड पालना गर्न तथा भौतिक दूरी कायम गर्द संक्रमण रोक्ने कार्यलाई सफल बनाउन पनि आह्वान गरेको छ ।

Featured