देश राजनीति

आधारभूत अस्पतालका लागि सरकारी जग्गा लिजमा दिने निर्णय

काठमाडौं, ५ मंसिर-सरकारले प्रत्येक स्थानीय तहमा निर्माण गर्ने भनेको ५ देखि १५ शय्याको अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ । अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय सरकारले गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७१ संसोधन गर्दै यस्तो निर्णय भएको बताए । ‘दफा १२ को उपदफा (३) लाई संशोधन गर्दै ‘स्थानीय तह अन्तर्गत स्थापना हुने ५ देखि १५ शय्याको आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा अस्पतालका नाममा नभएमा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता अस्पतालको भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय गर्न सक्नेछ’ भन्ने प्रतिबन्धात्मक वाक्यांश थप गरिएको उनले बताए ।

यसैगरी, सरकारले सुक्खा बन्दरगाह कार्यालय सिर्सिया, पर्सा विस्तारका लागि सुक्खा बन्दरगाह भन्सार कार्यालय र एकीकृत जाँच चौकीबीचमा रहेको ६२ विगाह क्षेत्रफलको जग्गा अधिग्रहण गर्न पनि सरकारले स्वीकृति दिएको छ ।

यस्तै, नेपालको शहरी शासकीय सुधार र पूर्वाधार आयोजनाका लागि विश्व बैंकले प्रस्ताव गरेको १८ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ । यस्तै, सहलगानीसम्बन्धी कार्यविधि २०७७ र व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ पनि मन्त्रिपरिषद्‌ले स्वीकृति गरेको उनले बताए ।

यसैगरी, लामो समयदेखि गैरकानुनी रूपमा नेपाल बसिरहेका अस्ट्रेलियन नागरिक लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शुल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र जरिवानाबराबरको ५० हजार रुपैयाँसमेत मिनाहा गरी देश निकाला गरेको छ । यस्तै, यमन गणज्यका नागरिक मोहम्मद स्मेल अहमद ओवादी र नासिम स्मेल अहमद ओवादीले बुझाउनुपर्ने भिसा दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शुल्क ५ हजार ११० अमेरिकी लडर र जरिवानाबापतको १ लाख रुपैयाँसमेत मिनाहा गरी दुवै जनालाई देशनिकाला गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै, नेपाली प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७७ स्वीकृत भएको छ । सरकारले सुर्खेत विमास्थलका लागि ३० विगाह र विराटनगर विमास्थलका लागि १ सय २६ दशमलव ४६ विगाहा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति पनि दिएको छ ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्षमा उद्धव प्रसाद तिमल्सेनालाई नियुक्त गर्ने पनि सरकारले गरेको उनले बताए । यस्तै स्वास्थ्य संस्था प्रत्यासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ । यसैगरी, सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेशसहितको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

Featured