विदेश

दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना

एजेन्सी, ५ मंसिर-दिल्लीमा कोरोना भाइरस संक्रमणको दर उच्च हुन थालेपछि नियन्त्रणका विषयमा मुख्यमन्त्री अरविन्द केजरिवालले सर्वदलीय छलफल गरेका छन् । उनले बैठकमा प्राप्त सुझावका आधारमा संक्रमण रोक्न कदम चाल्ने बताएका छन् ।

मुख्यमन्त्री केजरिवालले दिल्लीमा मास्क नलगाएमा अब २ हजार जरिवाना गरिने समेत बताएका छन् । यसअघि मास्क नलगाउनेलाई ५ सय जरिवान गर्ने गरिएको थियो ।

उनले छठ पर्वमा पनि कोरोना संक्रमणलाई ध्यानमा राख्दै पानी भएको सार्वजनिक स्थानमा भेला भएर पूजा गर्दा ठूलो मात्रामा कोरोना फैलिन सक्ने भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

उनले पत्रकार सम्मेलन गरेर दिल्लीमा बिरामीका लागि करिब साढे सात हजार बेड रहेको र करिब साढे चार सय आईसीयु बेड रहेको जानकारी दिएका छन् ।

दिल्लीका निजी अस्पतालका ८० प्रतिशत आईसीयू बेड कोरोनाका विरामीका लागि रिजर्व गर्ने तयारी गरिएको छ । केन्द्र सरकारसँग मिलेर थप १ हजार ४ सय बेडको बन्दोबस्त गर्ने तयारी भइरहेको पनि उनले बताएका छन् ।

Featured