देश राजनीति

ओली सचिवालय बैठकमा सहभागी हुने

काठमाडौं ३ मंसिर-नेकपाका बहुमत सचिवालय सदस्यले स्थायी समिति बैठक बोलाउने तयारी गरेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली त्यसलाई रोक्ने रणनीतिमा लागेका छन् । त्यसका लागि आजको सचिवालय बैठकमा सहभागी भएर ओलीले थप कदम चाल्न सक्ने बताइएको छ ।

प्रधानमन्त्रीका प्रेससल्लाहकार सूर्य थापाले बुधबारको बैठक पूर्वनिर्धारित हुने भएकाले प्रधानमन्त्री सहभागी हुने बताएका छन् । त्यही बैठकमा सहभागी हुनका लागि १ बजे नै बोलाएको मन्त्रिपरिषद् बैठक पनि १ घण्टा सारिएकाे छ ।

प्रधानमन्त्री ओलीले बैठक सारेको खबर आएलगत्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्धारित समयमा बालुवाटारमै सचिवालय बैठक बस्ने भन्दै ट्वीट गरेका थिए । श्रेष्ठको ट्वीट ओली सहभागी हुने संकेत भएपछि आएको नेकपाका नेताहरूको भनाइ छ ।

२८ कात्तिकको सचिवालय बैठकले तय गरेको ३ मंसिरको बैठकमा आफू सहभागी नहुने र बहुमतले स्थायी समिति बैठक बोलाउने निर्णय गरे थप संकट आउने संकेत बुझेरपछि ओली एक कदम पछाडि हटेर सचिवालय बैठकमा सहभागी हुन लागेका उनीनिकट स्रोतको दाबी छ । उनी सचिवालय बैठकलाई जति सकिन्छ छोटो समय बसेर स्थायी समिति बैठक बोलाउनबाट रोक्ने रणनीतिमा छन् ।

बिहानसम्म ओलीले महासचिव विष्णु पौडलमार्फत बैठक स्थगितको सूचना जारी गराउन पनि चाहन्थे । र, जसरी पनि बैठक स्थगित गराउनकै लागि समय जुधाएर १ बजे मन्त्रिपरिषद्को बैठक राखेका थिए ।

Featured