देश

काठमाडौं महानगरका ३३ स्थानमा मेलमिलाप केन्द्र स्थापना गरिँदै

काठमाडौँ, भदौ ६–काठमाडौं महानगरपालिकाको हरेक वडामा एकरएक र केन्द्रमा एक गरी जम्मा ३३ वटा मेलमिलाप केन्द्र स्थापना हुने भएको छ। यसका लागि मानव संशाधन महाशाखाले तीन चरणमा सञ्चालन गरेको तालिमबाट ७४ जना ‘मेलमिलापकर्ता’ नियुक्त भएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा मेलमिलापकर्तालाई प्रमुख विद्यासुन्दर शाक्यले शपथग्रहण गराएका थिए।

तालिम प्राप्त मेलमिलापकर्तालाई सर्वोच्च अदालतका न्यायाधीश एवं मेलमिलाप परिषद्का अध्यक्ष ईश्वरप्रसाद खतिवडाले प्रमाणपत्र प्रदान गरेका थिए। अहिले प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले छुट्टाछुट्टै इजलासबाट न्यायिक समाधान खोज्ने काम गरिरहेको प्रमुख शाक्यले बताए।

मेलमिलापकर्ताको सक्रियताले मुद्दाको चाप कम हुने उनले विश्वास व्यक्त गरे। यसबाट नागरिकको, मुद्दा मामिलामा हुने समय र सम्पत्तिको खर्च घटने उनको दाबी थियो। कार्यक्रममा बोल्दै न्यायाधीश खतिवडाले समाजमा सृजना भएका विवादमध्ये १५ प्रतिशत मात्र अदालतमा पुगेको तथ्य उल्लेख गर्दै बाँकी ८५ प्रतिशत मुद्दा सम्बन्धित निकायमा नपुगी समस्याग्रस्त अवस्थामा रहेको बताए।

उपप्रमुख हरिप्रभा खड्गीले कानुनबमोजिम प्राप्त गरेका जिम्मेवारीमध्ये न्यायिक समितिको काम महत्वपूर्ण रहेको बताउँदै यसले महानगरको न्यायिक समितिमा आउने विवादलाई वडा तहमै समाधान गर्ने दाबी गरिन्।

नेपाल मेलमिलाप समाजका अध्यक्ष शंकर सुवेदीका अनुसार मेलमिलाप परिषदबाट स्वीकृत पाठयक्रममा आधारित मेलमिलापसम्बन्धी तालिम प्राप्त व्यक्तिले मात्र मेलमिलाप गराउन पाउँछन्। कार्यक्रममा महानगरका मानव संशाधन विकास महाशाखाका प्रमुख बखतबहादुर साउदले तालिममा मेलमिलाप गर्ने तरिकाबारेमा जानकारी जानकारी दिएका थिए।

तालिममा वडाको सिफारिसमा प्रत्येक वडाबाट १–१ जना पुरुष र महिलालाई सहभागी गराइएको थियो। त्यसैगरी, अन्यत्र तालिम लिएका ६० जनाले महानगरले सञ्चालन गरेको मेलमिलाप केन्द्रमा काम गर्न सूचीकृत हुनका लागि निवेदन दिएका छन्। महानगरपालिकाका अनुसार हालसम्म १ सय ३४ जना मेलमिलापकर्ता महानगरमा काम गर्ने गरी तयार भइसकेका छन्।

Featured