खेलकुद देश

सन्दीपले होबार्ट हरिकेन्सबाट बीबीएल खेल्ने

काठमाडौं, ३ मंसिर-नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले आसन्न सिजनको बिग बास लिग (बीबीएल) होबार्ट हरिकेन्सबाट खेल्ने भएका छन् । मेलबर्न स्टार्सले सम्झौता नविकरण नगरेपछि सन्दीपले १० औँ सिजनको बीबीएल होबार्टबाट खेल्ने भएका हुन् । 

‘सन्दीपले यो पटक होबार्टबाट बीबीएल खेल्ने भएका छन्, बिहीबार बिहानसम्ममा उनले खेल्नेबारे टिमले अन्तिम जानकारी दिनेछ,’ सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले सँग भने, ‘यो पटक बीबीएलमा केही नियम परिवर्तन गरिएकाले थप रोमाञ्चक हुनेछ ।’

सन्दीपले गत दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले खेलेको दुबै सिजनमा स्टार्स फाइनलमा पुगेको थियो । सन्दीपले दुई सिजनमा २० इनिङ्स खेल्दा ७.२७ को इकोनमीमा २६ विकेट लिएका छन् । बीबीएलमा उनको उच्च प्रदर्शन चार ओभरमा ११ रन दिएर तीन विकेट लिनु हो ।

सन्दीपले बीबीएल २०१८ मा सात इनिङ्समा ६.९७ को इकोनमीमा ११ विकेट लिएका थिए । गत सिजनमा उनले १३ म्याचमा ७.४४ को इकोनमीमा १५ विकेट हात पारेका थिए ।

१० औँ सिजनको बीबीएल १० डिसेम्बरदेखि सुरु हुनेछ । उद्घाटन खेलमा होबार्ट हेरिकेन्स र सिड्नी सिक्सर्स खेल्ने छन् । सिड्नी गत सिजनको विजेता टिम पनि हो ।

सन्दीप यूएईमा भएको १३ औँ सिजनको आईपीएलमा सहभागिता जनाएर स्वदेशमा छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकाएर वेष्ट इण्डिजबाटै आईपीएलका लागि यूएई पुगेका थिए । दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपले यो पटक भने आईपीएलको एक म्याचमा पनि प्लेइङ- ११ मौका पाएनन् ।

Featured