देश

मुलुकको राजनीतिमा युवाहरुको आवश्यकता : प्रदीप पौडेल

काठमाडौँ, भदौ ६–नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मुलुकको राजनीतिमा युवाहरुको आवश्यकता औंल्याएका छन् । शुक्रबारबाट भृकुटीमण्डपमा शुरु नेपाल एजुकेसन फेस्टिभलको उद्घाटन गर्दै पौडेलले मुलुकले नयाँ संविधान पाए पनि राजनीतिमा नयाँपन आउन नसकेकाले राजनीतिमा युवाहरुको प्रवेश जरुरी भएको बताएका हुन् ।

‘राजनीतिमा युवा नेताहरुको भूमिका प्रभावशाली नभए मुलुकले समृद्धि हासिल गर्न सक्दैन,’ पौडेलले भने, ‘अहिले मुलुकको राजनीति एकातिर र समाज अर्को्तिर हिँडिरहेको छ ।’

नेता पौडेलले राजतन्त्र फाले पनि राजतन्त्रात्मक प्रवृत्ति हटाउन नसकेको भन्दै समृद्धि ल्याउन शब्द बाचनबाट मात्र सम्भव नभएकाले समाजका हरेक क्षेत्रमा सफलता हासिल गर्न सकेमात्र समृद्धि सम्भव भएको बताए ।

लामो समय राजनीतिमा लागेकै आधारमा र जेलनेल बसेको आधारमा अब मान्छेलाई नेतृत्व ल्याउन नहुने उनको भनाइ छ । उनले भने, ‘नेपालमा शिक्षाको विकास भएका कारण गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर भएकाले विदेश गइरहनुपर्दैन । अब शिक्षितहरुले नै मुलुक चलाउने जिम्मा लिनुपर्छ ।’

उनले गुणस्तरीय शिक्षा निजी क्षेत्रका शिक्षण संस्थाले उपलब्ध गराए पनि महँगो भएको गुनासोलाई संवोधन गर्नुपर्ने बताए । नाइन सेभेन सेभेन भेन्चर्सले आयोजना गरेको मेलामा उपत्यकाका दुई दर्जन बढी कलेजले स्टलहरु राखेका छन् ।

Featured