विदेश

पश्चिम बंगालमा राधा कृष्ण मन्दिरको पर्खाल भत्किँदा ६ जनाको मृत्यु, कयौँ घाइते

पश्चिम बंगाल,एजेन्सी, भदौ ६-पश्चिम बंगाल स्थित कृष्ण मन्दिरको पर्खाल भत्किँदा ६ जनाको मृत्यु हुनुका साथै कयौं व्यक्तिहरु घाइते भएका छन्।

शुक्रबार पश्चिम बंगालको उत्तर २४ परगनामा एक मन्दिरको पर्खाला भत्किँदा ती व्यक्तिको मृत्यु भएको हो। परागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ।

उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको थियो। शुक्रबार कृष्णाष्टमी मनाइरहेको समयमा सो मन्दिरको पर्खाल भत्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पर्खालले थिचेर ६ जनाको मृत्यु भएको छ भने त्यसपछि भएको भागदौडमा परेर कयौँ श्रद्धालु घाइते बनेका हुन्।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले सो घटनामा मृत्यु हुनेका परिवारलाई जनही ५ लाख, गम्भीर घाइतेलाई १ लाख र घाइते लाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेकी छन्।

उक्त दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकैको अस्पताल पुर्याइएको छ। घाइते के कतिजना छन् भन्ने बारेमा पूर्ण विवरण आएको छैन।

कृष्णाष्टमी पर्व हिन्दू धर्मावलम्बीहरुले भगवान श्रीकृष्णको जन्म दिनको रुपमा उनको पूजा आराधना गरी भव्य रुपमा मनाउने गर्दछन्।
भारतमा हिन्दू धर्मावलम्बीहरु विभिन्न तीर्थस्थलमा भीड लाग्ने र भागदौडबाट कयौँ नागरिकको ज्यान जाने गरेका समाचारहरु आउने गर्दछन्।

फोटो स्रोत : ANI NEWS

Featured